लेवान्डोस्कीको निष्कर्ष – ‘बालोन डी’ओर भन्दा फिफा द बेस्ट अवार्ड बढी महत्वपूर्ण’

एजेन्सी – जर्मन च्याम्पियन्स बायर्न म्युनिखका पोलिश स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले बालोन डी’ओर भन्दा फुटबलको सर्वोच्च संस्था फिफाले दिने द बेस्ट अवार्डको बढी महत्व रहेको बताएका छन्। हालसालै एक मिडियासँग कुराकानी गर्नेक्रममा लेवान्डोस्कीले बालोन डी’ओर भन्दा द बेस्ट अवार्ड बढी महत्वपूर्ण रहेको बताएका हुन्।

सन् २०२१ को बालोन डी’ओरमा अर्जेन्टिनाक लियोनेल मेस्सी भन्दा पछाडी परेका लेवान्डोस्कीले आफू बालोन डी’ओर भन्दा फिफाले दिने द बेस्ट अवार्डको बढी महत्व रहेको निष्कर्षमा पुगेको बताए।

“मैले पछिल्लो समय दुई अवार्डको बारे धेरै सोचेको छु। म फिफा अवार्डले बालोन डी’ओर भन्दा बढी महत्व राख्छ भन्ने निष्कर्षमा पुगेको छु।”,लेवान्डोस्कीले पोलिश मिडिया पिल्का नोज्नासँग कुराकानी गर्दै भने।

बालोन डी’ओरका लागि पत्रकारहरुले भोट गर्ने र त्यसको प्रमाणीकरण बारे स्पष्ट कुनै जानकारी नहुने हुँदा द बेस्टको बढी महत्व रहेको लेवान्डोस्कीको भनाई छ। फिफाले दिने अवार्डका लागि टोलीका कप्तान र प्रशिक्षकहरुले मतदान गर्ने हुँदा वास्तविक मूल्याङ्कन हुने लेवान्डोस्कीले बताए।

उनले भने,”बालोन डी’ओरका लागि पत्रकारहरुले मतदान गर्छन्। त्यहाँ कुनै स्पष्ट प्रमाणीकरण हुँदैन भन्ने कुरा धेरै विशेषज्ञहरू वा पूर्व र वर्तमान फुटबलरहरूले बताइसकेका छन्। फिफाका लागि भने पत्रकार मात्र नभई राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकले पनि भोट गर्छन्। जस कारण एक खेलाडीको वास्तविक र वस्तुनिष्ठ रूपमा मूल्याङ्कन हुन्छ।”

प्रतिष्ठाका हिसाबले बालोन डी’ओर फिफाले दिने अवार्ड भन्दा माथि देखिएपनि लगातार दुई वर्ष फिफाको अवार्ड जित्नु आफ्नु लागि ठूलो गर्वको कुरा रहेको लेवान्डोस्कीले सुनाए। यस्तै अवार्डका लागि आफूले कयौं वर्ष धेरै मिहिनेत गरेको उनी बताउँछन्।

प्रकाशित : शनिबार, माघ २२, २०७८१९:४७

“हालाण्ड अहिले धेरै राम्रो छन्, तर उनी स्टार नै हुन्छन् भनेर अहिले नै भन्न मिल्दैन”