एजेन्सी – लालिगा लिडर रियल म्याड्रिड बिहिबार राति एथलेटिको बिल्वाओसँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरियो। बिल्वाओको घरेलु मैदानमा रियल गोल गर्न नसक्दा बिल्वाओसँग पराजित हुन पुगेको थियो। क्लबका मुख्य खेलाडी करिम बेन्जेमा नभएका कारण रियलले कम्जोर प्रदर्शन गरेको थियो।
बलमा बिल्वाओ भन्दा बढी नियन्त्रण कायम गरेपनि रियलको तर्फबाट कम प्रहार भए। खेलभर बिल्वाओको तर्फबाट कुल १५ प्रहार भएको थियो। ती मध्ये ३ प्रहार टार्गेटमा थिए र एक प्रहार गोलमा पनि परिणत भयो। तर रियलको तर्फबाट भने मात्रै ७ प्रहार भएका थिए। जसमा दुई प्रहार मात्र टार्गेटमा थिए।
रियलको तर्फबाट कम्जोर आक्रमण हुनु पछाडीको मुख्य कारण करिम बेन्जेमा हुन्। बेन्जेमा नभएकै कारण रियलको आक्रमण फितलो हुन पुगेको थियो। बिल्वाओ विरुद्धको खेलमा बेन्जेमा हुन्थे भने नतिजा फरक हुन्थ्यो।
रियलका मुख्य अंग बेन्जेमा
क्रिस्टियानो रोनाल्डोले छाडेपछि बेन्जेमा नै रियलका मेरुदण्डको रुपमा रहँदै आएका छन्। रोनाल्डोले छाडेयता बेन्जेमाले नै रियलको आक्रमण सम्हालिरहेका छन्। बेन्जेमाले पछिल्लो वर्ष देखि जुन लय समातेका छन्, त्यसले रियललाई एक प्रकारको गति दिरहेको छ। बिल्वाओ विरुद्धको खेलमा त्यहि कुराको कमि देखियो। बेन्जेमा नहुँदा रियल एक अंग गुमाएको शरीर जस्तै भएको थियो।
च्याम्पियन्स लिगमा बेन्जेमा नभए के होला ?
बेन्जेमा सामान्य समस्याका कारण खेल्न नसकिरहेको बताइन्छ। बेन्जेमाको अनुपस्थितिमा एथलेटिको बिल्वाओ विरुद्ध कम्जोर प्रदर्शन गरेको रियलले बेन्जेमा बिना च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्नु परे के होला ? पक्कै पनि त्यस्तो भएको खण्डमा रियल पिएसजी सामू घुँडा टेक्नेछ। यहि कारणले गर्दा प्रशिक्षक कार्लो एन्सेलोटी बेन्जेमाको विषयमा जोखिम लिन चाहँदैनन्।