माने भर्सेस सलाह: को बन्ला त अफ्रिकाको राजा, फाइनलमा कसको बज्ला बाजा ?

एजेन्सी – अफ्रिका कप अफ नेसन्सको फाइनलमा आइतबार राति इजिप्ट र सेनेगलबीच प्रतिस्पर्धा गर्दैछन् । यसबीचमा सबैको नजर विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी साडियो माने र मोहमद सलाहमा हुनेछ । दुवै इंग्लिस क्लब लिभरपुलका खेलाडी हुन् ।

इजिप्टले आयोजक क्यामरुनलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै सेनेगलसँगको भेट पक्का गरेको थियो । सेनेगलले बुर्किना फासोलाई ३–१ ले हराउँदै तेस्रो पटक फाइनलमा स्थान बनाउन सफल भएको हो । महादेशीय प्रतियोगितामा इजिप्टको यो १०औं तथा सेनेगलको तेस्रो फाइनल हो ।

इजिप्ट र सेनेगल उपाधिका लागि मैदानमा उत्रदा सलाह र मानेमाथि ठूलो जिम्मेवारी हुनेछ । लिभरपुलको अग्रपंक्तिमा जमेका यि दुई स्टार इतिहास रच्ने सुरमा छन् । सलाह इजिप्टको तथा माने सेनेगलको नेतृत्वमा उत्रदै आफ्नो टोलीलाई च्याम्पियन बनाउने लक्ष्यमा हुनेछन् ।

इजिप्ट कीर्तिमानी आठौंपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बन्ने लक्ष्यमा रहँदा सेनेगल पहिलोपटक च्याम्पियन बन्दै इतिहास बनाउने लक्ष्यमा हुनेछ । सन् २००२ मा अफ्रिकाको नयाँ शक्तिको रुपमा उदाएको सेनेगलले सोही वर्ष विश्वकपको क्वाटरफाइनलमा तथा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुग्दै सनसनी मच्चाएको थियो । तर, सेनेगल हालसम्म महादेशको च्याम्पियन बन्न सकेको छैन । सेनेगल अघिल्लो संस्करणमा अल्जेरियासँग पराजित हुँदै च्याम्पियन बन्नबाट वञ्चित बनेको थियो ।

इजिप्टले ९ पटक फाइनल खेल्दा सात पटक च्याम्पियन बनेको छ । इजिप्ट पछिल्लोपटक २०१७ मा फाइनलमा पुगेपनि क्यामरुनसँग पराजित हुँदै उपाधि विमुख बनेको थियो । इजिप्ट पछिल्लोपटक सन् २०१० मा घानालाई हराउँदै च्याम्पियन बनेको थियो । त्यसअघि इजिप्ट १९५७, १९५९, १९८६, १९९८, २००६ र २००८ मा च्याम्पियन बनेको थियो । इजिप्टले २००६ देखि २०१० सम्मको तीन संस्करणको च्याम्पियन बन्दै ह्याट्रिक उपाधि जितेको थियो ।

दुवै फरवार्डले प्रतियोगिताको सुरुवाती चरणमा आशातित प्रदर्शन गर्न नसकेपनि टोलीको जितमा निर्णायक भुमिका निभाएका छन् । प्रतियोगिता भर मानेले ३ तथा सलाहले २ गोल गरेका छन् ।

सेनेगलको फाइनल यात्रा

समूह चरण

सेनेगलविरुद्ध जिम्वावे (१–०) को जित

सेनेगलविरुद्ध गिनिया (०–०) को बराबरी

सेनेगलविरुद्ध मालावी (०–०) को बराबरी

प्रि–क्वाटरफाइनल : सेनगलविरुद्ध केप भार्डे (२–०) को जित

क्वाटरफाइनल : सेनेगलविरुद्ध इक्वेटोरियल गिनिया (३–१) को जित

सेमिफाइनल : सेनगलविरुद्ध बुर्किना फासो (३–१) को जित

इजिप्टको फाइनल यात्रा

समूह चरण

इजिप्टविरुद्ध नाइजेरिया (१–०) को हार

इजिप्टविरुद्ध गिनिया विसाउ (१–०) को जित

इजिप्टविरुद्ध सुडान (१–०) को जित

प्रि–क्वाटरफाइनल : इजिप्टविरुद्ध आइभोरी कोस्ट टाइब्रेकरमा ५–४ को जित

क्वाटरफाइनल : इजिप्टविरुद्ध मोरोक्को अतिरिक्त समयमा (२–१) को जित

सेमिफाइनल : इजिप्टविरुद्ध क्यामरुन टाइब्रेकरमा (३–१) को जित

प्रकाशित : आइतबार, माघ २३, २०७८१४:२५

रोनाल्डो माथि भयो ठूलो आक्रमण, क्लबमा केही गर्न नसक्ने लाग्यो आरोप !