काठमाडौंः सत्ता गठबन्धन दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने प्रतिबद्धताका साथ अमेरिकी राजधानी वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको गोप्य पत्र सार्वजनिक भएको छ।
सार्वजनिक भएको पत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास गर्ने प्रतिबद्धताका साथ हस्ताक्षर गरेको पनि खुलासा भएको छ। सेप्टेम्बर २९ मा वासिङटन डिसीस्थित एमसीसी बोर्डलाई पठाईएको पत्रमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले संयुक्त हस्ताक्षर गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यसअघि संसोधन नभई एमसीसी पास गर्न नहुने बताउँदै आए पनि सार्वजनिक भएको गोप्य पत्रका अनुसार एसमीसी पारित गर्न दाहाल पनि पूर्ण रूपमा समहत रहेको भन्डाफोर भएको छ। यसअघि प्रधानमन्त्री देउवाले गठबन्धन बैठकमा संसदबाट एमसीसी पारित गर्ने प्रस्ताव गरेपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा केन्द्रका अध्यक्ष दाहालले संसोधन नभएसम्म एमसीसी पास गर्न आफूहरु कुनै पनि हालतमा सहमत नहुने जवाफ दिएका थिए।


