एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले एट्लेटिको म्याड्रिड विरुद्ध धेरै राम्रो खेल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। लालिगामा आइतबार राति एट्लेटिको म्याड्रिड विरुद्धको खेलमा बार्सिलोना ४-२ को गोल अन्तरले पराजित भएको थियो।
सिजनको शुरुवात देखि कम्जोर प्रदर्शन गर्दै आएको बार्सिलोनाले आइतबार भने जारी सिजनकै उत्कृष्ट प्रदर्शन गर्यो। एट्लेटिको विरुद्धको जित ‘टर्निङ प्वाइन्ट’ रहेको जाभीले बताए। जाभीका अनुसार एट्लेटिको विरुद्ध जित निकाल्ने पर्ने थियो।
एट्लेटिको विरुद्धको खेलमा जित निकाल्नै पर्ने दबावमा आफूहरु रहेको र त्यस्तै भएको जाभीको भनाई छ। हरेक पक्षमा बार्सिलोना एट्लेटिको भन्दा उत्कृष्ट देखिएको जाभीले बताए।
“यो जित हामी सबैलाई चाहिएको थियो। यो जित भन्दा बढी हो। समर्थक, खेलाडी र कर्मचारीहरु सबैलाई चाहिएको यहि थियो। हामी उत्कृष्ट थियौं। एक हिसाबले भन्ने हो भने यो टर्निङ प्वाइन्ट हुन सक्छ।”,जाभीले भने।
खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले आउने समय अझ राम्रो फुटबल खेल्ने आफूहरुको प्रयास रहने बताए। अहिले देखिएका कमजोरीलाई सुधार्दै अगाडी बढ्ने जाभीको भनाई छ। उनले भने,”हामीले नम्र भएर काम गर्नुपर्नेछ। हामी राम्रो हुँदैछौँ र हामीले गति कम गर्न मिल्दैन। खेलको यो शैलीले पक्कै फल दिनेछ।”
सिजन अगाडी बढ्दै गर्दै बार्सिलोना थप बलियो हुँदै जाने जाभीको विश्वास छ। डिफेन्सको मामलामा बार्सिलोना अझै पनि कम्जोर रहेको जाभीले बताए।
“हामीले सबै पक्षमा सुधार गर्नुपर्ने छ। हामी अझै पनि धेरै भन्दा धेरै गोल बेहोरिरहेका छौँ। त्यो पक्षलाई सुधार गर्नुपर्नेछ। रक्षात्मक पक्षमा सुधार गर्नेमा हामी केन्द्रित छौँ।”,उनले भने।