एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले एडामा ट्राओरेको खुलेर प्रशंसा गरेका छन्। आइतबार राति एट्लेटिको म्याड्रिड विरुद्धको खेलमा प्रभावशाली प्रदर्शन गरेका ट्राओरेको जाभीले खुलेर प्रशंसा गरेका हुन्।
एट्लेटिको म्याड्रिडमाथि ४–२ को सानदार जित निकालेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले ट्राओरेलाई ‘मोन्स्टर’को संज्ञा दिए। ट्राओरे एक खेलाडीको रुपमा धेरै परिपक्व भएको जाभीको भनाई छ।
ट्राओरेलाई वान भर्सेस वान अवस्थामा जित्न नसकिने पनि जाभीले बताए। जाभीका अनुसार ट्राओरे उनका लागि सबै भन्दा उत्तम विंगर हुन्। ट्राओरे बार्सिलोनाका लागि धेरै काम लाग्ने जाभीको विश्वास छ।
“एडामा धेरै परिपक्व भइसकेका छन्। शारीरिक रूपमा उनी एक ‘विस्ट’, ‘मोन्स्टर’ हुन्। वान भर्सेस वान अवस्थामा उनलाई जित्न गार्हो छ। मेरा लागि उनी पर्फेक्ट विंगर हुन्। म विश्वस्त छु कि उनी हामीलाई धेरै काम लाग्नेछन्।”,जाभीले भने।
ट्राओरे जनवरी ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब वुल्भ्सबाट बार्सिलोना आइपुगेका हुन्। पहिला पनि उनले बार्सिलोनाबाट खेलिसकेका छन्। ट्राओरेले आइतबार एट्लेटिको विरुद्ध बार्सिलोनाक लागि दोस्रो पटक लालिगा डेब्यू गरे।
आइतबारको खेलमा उनले धेरै प्रभावशाली प्रदर्शन गरेका थिए। उनले २१ औं मिनेटमा गाभीलाई उत्कृष्ट असिस्ट दिएका थिए। ट्राओरेको पासमा गाभीले गोल गरेका थिए। त्यति मात्रै नभई उनले मैदानमा रहुन्जेल धेरै राम्रो प्रदर्शन गरेका थिए।