निफ्राको शेयर मूल्य ह्वात्तै बढ्यो ! कति पुग्यो ?

काठमाडौँ – साताको दोस्रो दिन सोमबार धितोपत्र बजारमा नेपाल पूर्वाधार बैंक(नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’)को शेयर मूल्य बढेको छ। गएको केहि समय देखि खासै ठूलो वृद्धि नभएको निफ्राको शेयर मूल्यमा सोमबार एकाएक उछाल देखिएको हो।

सोमबार कारोबारको आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रह्यो। नेपाल स्टक एक्सचेन्जबाट प्राप्त जानकारी अनुसार सोमबार निफ्राको रु ४९ करोड ३४ लाख ४९ हजार ८३९ बराबरको कारोबार भयो।

अत्याधिक कारोबार हुँदा निफ्राको शेयर मूल्यमा ८.४२ प्रतिशतको वृद्धि भएको छ। सोमबार बजार बन्द हुने समयमा निफ्राको अन्तिम मूल्य ४ सय १२ रुपैंयाँ सम्म पुगेको छ। यस अगाडी आइतबार निफ्राको अन्तिम कारोबार मूल्य ३ सय ८० रुपैंयाँ थियो।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अङ्कले बढेर ५३५.३२ मा पुगेको छ ।

नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । कूल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर रु पाँच अर्ब दुई करोड २० लाख १७ हजार १८१ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३० अर्ब ७५ करोड ९६ लाख ६० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७ र लघुवित्त ४.३९ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै, व्यापार ७.५१, विकास बैंक २६.१५, जलविद्युत् ६.९१, वित्त ८.९२, निर्जीवन बीमा ७६.५, उत्पादन ३४.८७, अन्य ५४.१२, जीवन बीमा १२४.९६, सामूिहक लगानी कोष ०.०५ र लगानी २.९२ अङ्कले उकालो लागेको छ ।

प्रकाशित : सोमबार, माघ २४, २०७८१८:५४

नेप्सेमा दोहोरो अङ्कको गिरावट: यी कम्पनीका शेयरमा पहिरो !