काठमाडौं । देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी सरकारले ३० वैशाख २०७९ का लागि निर्वाचनको मिति घोषणा गरेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
सत्ता पक्षीय गठबन्धनकै असमझदारीका बीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले स्थानीय तहको निर्वाचनका लागि मिति तोकेको हो । सो निर्वाचनमार्फत स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकमा हाल ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७५३ स्थानीय तह छन् । ती स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा छ । स्थानीय तहको निर्वाचनमार्फत सबैभन्दा ठूलो संरचना महानगरदेखि तल्लो तहको संरचना वडा तहसम्ममा जनप्रतिनिधि चयन हुनेछन् ।
निर्वाचन आयोगले भने १८ माघमा स्थानीय तहको निर्वाचनका लागि ४ जेठको मिति सरकारसँग सिफारिस गरेको थियो । स्थानीय तहको निर्वाचन कानुनअनुसार आयोगको सिफारिसमा सरकारले मन्त्रिपरिषद् बैठकमार्फत मिति तोक्ने व्यवस्था छ ।
त्यसअघि भने आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर, सत्तारूढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव दोस्रोपटक ४ जेठको मिति प्रस्ताव गरेको थियो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिनेछ । आयोगले कार्यकाल समाप्त हुनुअघि नै स्थानीय तहमा पदपूर्ति भइसक्नुपर्ने र संविधानले जनप्रतिनिधिविहीनताको कल्पना नगरेको बताउँदै आइरहेको छ ।

