एजेन्सी – फ्रेन्च क्लब पेरिस सेट जर्मेन(पिएसजी)का युवा स्ट्राइकर किलियन एम्बाप्पेको गन्तव्य लगभग निश्चित जस्तै छ। ढिलो-चाँडो उनी जसरी पनि स्पेनिस क्लब रियल म्याड्रिडमा हुनेछन्। यहि सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका उनी सम्झौता सकिएलगतै फ्री ट्रान्सफरमा रियल जाने उच्च सम्भावना छ।
पिएसजीले एम्बाप्पेलाई क्लबमै अड्याउन विभिन्न प्रयास गरिरहेका पनि एम्बाप्पे सम्झौता थप गर्न तयार हुन सकिरहेका छैनन्। एम्बाप्पे पिएसजीमा रहुन् भन्ने चाहनाका कारण पिएसजीले क्लबमा विभिन्न परिवर्तन गर्ने तयारी पनि गरिरहेको छ। विभिन्न मिडियाहरुमा आएका खबर अनुसार पिएसजीले जिनेदिन जिदानलाई प्रशिक्षकको रुपमा ल्याउने योजना बनाएको छ।
जिदान प्रशिक्षकको रुपमा आएको खण्डमा एम्बाप्पे क्लबमै रहने पिएसजीका अधिकारीहरुको बुझाई रहेको छ। तर एल चिरिन्गुइटो टिभीको दावीलाई मान्ने हो भने जिदान पिएसजी आएपनि एम्बाप्पेले पिएसजी छाड्नेछन्। सो टिभीका अनुसार एम्बाप्पे कुनै पनि हालतमा पिएसजीमा रहने छैनन्। आउने समर ट्रान्सफर विन्डोमै रियल म्याड्रिड जाने एम्बाप्पेको योजना रहेको एल चिरिन्गुइटो टिभीले जनाएको छ।
जिदान आउने चर्चा
गएको केहि समय देखि जिदान पिएसजी प्रशिक्षकको रुपमा आउने चर्चा चलिरहेको छ। फ्रेन्च मिडियाहरुले गरेको दावीलाई मान्ने हो भने जिदान यस सिजनको अन्त्य भित्रै पिएसजीमा आउनेछन्। यदि पिएसजी च्याम्पियन्स लिगबाट आउट भएको खण्डमा पनि जिदान पिएसजी आउन सक्नेछन्।