एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) फरवार्ड किलियन एम्बाप्पेलाई क्लबमा अड्याउन कटिबद्ध छ। एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजी जुन सुकै हद सम्म जाने स्पष्ट छ। एम्बाप्पेलाई क्लबको दिर्घकालिन योजनामा राख्ने पिएसजीको योजना रहेपनि एम्बाप्पेले भने सम्झौता नवीकरण मानिरहेका छैनन्।
पिएसजीसँगको सम्झौता यहि वर्ष सकिँदै छ। हालको अवस्थामै एम्बाप्पे जुन सुकै क्लबसँग अग्रिम सम्झौता गर्नको लागि खुला गइसकेका छन्। केहि खेल मिडियाहरुले त एम्बाप्पेले रियल म्याड्रिडसँग अग्रिम सम्झौता गरिसकेको भनेर पनि दावी गरिरहेका छन्। तर एम्बाप्पेले भने यी चर्चाहरुलाई खारेज गरेका छन्। केहि दिन अगाडी मात्रै एम्बाप्पेले च्याम्पियन्स लिगको प्रतिद्वन्दीसँग आफू अहिले नै कुरा गर्ने मुडमा नरहेको बताएका थिए।
एम्बाप्पेको सो भनाई पछि उनी पिएसजीमै रहने थोरै भएपनि सम्भावना देखिएको छ। यस सम्भावनासँगै पिएसजी पुनः एम्बाप्पेसँग कुराकानी मुडमा देखिएको छ। फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीले एम्बाप्पे समक्ष फाइनल प्रस्ताव राख्ने भएको छ।
पिएसजीको मिडिया
एम्बाप्पे सित्तैमा अन्यत्र जान सक्ने सम्भावनालाई मध्यनजर राख्दै पिएसजीले छोटो अवधिको सम्झौता प्रस्ताव गर्ने तयारी गरिरहेको फेन्च मिडियाहरुको दावी छ। त्यसको लागि पिएसजीले निकै ठूलो पारिश्रमिक अफर गर्ने तयारी गरेको छ। पिएसजीमा लियोनेल मेस्सी र नेयमारले पाइरहेको भन्दा पनि बढी पारिश्रमिक दिने पिएसजीको योजना रहेको बताइन्छ।
पिएसजीमा मेस्सीले वार्षिक ४१ मिलियन युरो पारिश्रमिक पाइरहेका छन्। जबकी एम्बाप्पेले लगभग १८ मिलियन युरो जति मात्रै पारिश्रमिक पाइरहेका छन्। पिएसजीको पछिल्लो तयारी अनुसार अब एम्बाप्पेको पारिश्रमिक मेस्सी भन्दा पनि बढी हुनेछ। पिएसजी एम्बाप्पेलाई वार्षिक ५० मिलियन युरो सम्म पारिश्रमिक दिन तयार रहेको बताइन्छ ।