एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड पुछारको बर्नलेसँग बराबरीमा रोकिएको छ । युनाइटेडले बर्नलेसँग १–१ गोलको बराबरी खेलेको हो ।
टर्फ मुर बर्नलेमा मंगलबार राति भएको खेलमा युनाइटेडका लागि पउल पोग्वाले गोल गर्दा घरेलु टोलीका जे रोड्रिग्वेजले बराबरी गोल फर्काएका थिए । खेलको १२औं मिनेटमा राफयल भरानले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा युनाइटेड अग्रता लिनबाट चुकेको थियो । उक्त गोलको मुभमा भरान अफसाइड देखिएको थियो ।
१८औं मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले लुका साको पासमा गोल गर्न सफल भएका थिए । तर त्यो अग्रतालाई युनाइटेडले जोगाउन सकेन । दोस्रो हाफको शुरुमै गोल खान पुग्यो ।
४७औं मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले वाउट वेगह्रसटको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्नक नसक्दा खेल बराबरीमा टुंगियो । प्रशिक्षक राल्फ रागनिकले भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाएपनि उनले गोल गर्न सकेनन् ।
यो बराबरीले युनाइटेडले चौथो स्थान गुमाएको छ । युनाइटेड २३ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बर्नले २० खेलबाट १४ अंक जोडेर पुछारमा यथावत रहेको छ ।
अर्काे खेलमा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १–० ले पराजित गर्दै शीर्षचारमा उब्लिएको छ । वेस्ट ह्यामको जितमा जरोड वोवेनले ६८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले म्यानुयल लान्जिनीको पासमा गोल गरेका थिए ।
यो जितले चौथो स्थानमा उक्लिएको वेस्ट ह्यामको २४ खेलबाट ४० अंक पुगेको छ । पराजित वाट्फोर्ड १५ अंक जोडेर १९औं स्थानमा रहेको छ ।