म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रबन्धक राल्फ राङ्गनिकले क्रिस्टियानो रोनाल्डोलाई बर्नली विरुद्धको खेलमा सुरुवाती ११ मा नउतार्नुको कारण स्पष्ट पारेका छन्।
पोर्चुगिजलाई मंगलबारको प्रिमियर लिगको भिडन्तको लागि आश्चर्यजनक रूपमा बेन्चमा राखिएको थियो। अर्को सिजन च्याम्पियन्स लिग फुटबलको लागि टप ४ स्थानको दौड निकै प्रतिस्पर्धात्मक हुँदै गर्दा युनाइटेडलाई जित अत्यावश्यक रहेको थियो। यस्तोमा ५ पटकका ब्यालोन डी ओर विजेतालाई बेन्चमा राख्ने आफ्नो निर्णयलाई व्याख्या गर्दै युनाइटेड प्रशिक्षकले भनेका थिए, “आज धेरै स्प्रिन्टिङ, बललाई पछ्याउन, बलका लागि धेरै लडाइँ चाहिन्छ। यो एडिन्सन काभानीको प्रोफाइलमा सबैभन्दा राम्रोसँग फिट हुन्छ त्यसैले उसले आज सुरु गरेको हो।”
रोनाल्डो बिना नै उत्रिएको युनाइटेड तालिकाको पुछारमा रहेको बर्नलीसँग १-१ को बराबरीमा रोकिँदै टप ४ बाट पनि बाहिरिएको छ। १८औं मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाएका थिए। तर खेलभर उक्त अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटड बराबरी मै रोकिन बाध्य भयो। ४७औं मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
शिक्षक राल्फ रागनिकले भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाएपनि उनले गोल गर्न सकेनन्। यो बराबरीले युनाइटेडले चौथो स्थान गुमाएको छ। युनाइटेड २३ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बर्नले २० खेलबाट १४ अंक जोडेर पुछारमा यथावत रहेको छ।
अर्काे खेलमा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १–० ले पराजित गर्दै शीर्षचारमा उब्लिएको छ। वेस्ट ह्यामको जितमा जरोड वोवेनले ६८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले म्यानुयल लान्जिनीको पासमा गोल गरेका थिए।
यो जितले चौथो स्थानमा उक्लिएको वेस्ट ह्यामको २४ खेलबाट ४० अंक पुगेको छ। पराजित वाट्फोर्ड १५ अंक जोडेर १९औं स्थानमा रहेको छ।