एजेन्सी – क्याटलान क्लब बार्सिलोना बोरुसिया डर्टमण्डका एर्लिङ हालाण्डलाई जसरी पनि भित्र्याउने गरी अगाडी बढिरहेको छ। आउने ट्रान्सफर विन्डोमा हालाण्ड बिक्रीमा हुने चाल पाएसँगै बार्सिलोना अहिले देखि नै तयारीमा जुटेको हो।
आर्थिक समस्याले गाँजेको अवस्थामा पनि बार्सिलोनाले हालाण्डलाई भित्र्याउने योजना बनाएको छ। हालाण्डलाई भित्र्याउने बार्सिलोनाले आर्थिक तयारी शुरु गरिसकेको छ। आर्थिक रुपमा सहज वातावरण बनाउनको लागि केहि खेलाडीहरुलाई क्लबबाट जान दिने बार्सिलोनाको योजना छ।
आउने ट्रान्सफर विन्डो अगाडी नै बार्सिलोनाले बिक्री गर्ने खेलाडीहरुको सूची तयार पारिसकेको बताइन्छ। बार्सिलोनाले सम्झौता थप गर्न नमानिरहेका ओस्मान डेम्बेलेलाई जान दिने निर्णय गरिसकेको छ। महँगो मूल्यमा किनेर ल्याइएका डेम्बेले जाँदा कम्तिमा महँगो पारिश्रमिकबाट बार्सिलोनाले छुटकारा पाउनेछ। सो पारिश्रमिक हालाण्डलाई दिन सकिनेछ।
त्यस्तै बार्सिलोनाले सेभियाबाट आएका लुक डे जोङसँगको लोन सम्झौता पनि नवीकरण गर्नेछैन। जनवरी ट्रान्सफर विन्डोमा खेलाडीहरु थप भएसँगै लुक डे जोङले क्लबमा बार्सिलोनामा मौका पाउन छाडिसकेका छन्। यस्तोमा बार्सिलोनाले उनलाई सेभिया नै फिर्ता गर्नेछ।
हालाण्ड भित्र्याउने योजनाका कारण सर्जी रोबर्टोलाई पनि जान दिने बार्सिलोनाको योजना छ। त्यस्तै फ्री ट्रान्सफरमा बार्सिलोना आएका मेम्फिस डिपेको भविष्यमा धरापमा परेको छ। हालाण्ड भित्र्याउन सम्भव देखिएको खण्डमा डिपेबाट छुटकारा पाउने बार्सिलोनाको योजना रहेको बताइन्छ।
बार्सिलोनाको योजना
लियोनेल मेस्सीलाई क्लब छाड्दा जुन समस्या देखिएको, त्यसबाट बार्सिलोना क्रमिक रुपमा बाहिर निस्किँदै छ। जनवरीमा थप भएका खेलाडीहरुका कारण बार्सिलोना अहिले सम्हालिने अवस्थामा पुगेको छ। यससँगै बार्सिलोना यति बेला भविष्यलाई ध्यानमा राखेर स्क्वाड निर्माणमा जुटेको छ। बार्सिलोनाको मूख्य योजना अन्सु फाती, एर्लिङ हालान्ड र फेरान टोरेसलाई आक्रमणको जिम्मेवारी दिने रहेको छ।