एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर कासेमिरोले लियोनेल मेस्सी बिना पनि बार्सिलोना अगाडी बढ्न सक्ने बताएका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा कासेमिरोले मेस्सीको अनुपस्थितिमा पनि बार्सिलोना क्रमिक रुपमा अगाडी बढ्न सक्ने बताएका हुन्।
पानेन्का म्यागजिनसँग कुराकानी गर्दै कासेमिरोले क्रिस्टियानो रोनाल्डोले छाडेपछि रियल म्याड्रिड अगाडी बढे जस्तै बार्सिलोना पनि अगाडी बढ्ने विश्वास व्यक्त गरे। रियल म्याड्रिड रोनाल्डो जसरी अगाडी बढ्यो बार्सिलोना पनि त्यसरी नै अगाडी बढ्नु पर्ने उनको भनाई छ।
रोनाल्डो र मेस्सी एकै सिजनमा ४०-५० गोल सहजै गर्न सक्ने खेलाडी रहेका कारण उनीहरुको अभाव खड्किने कुरालाई कसैले नकार्न नसक्ने कासेमिरोले बताए। मेस्सी र रोनाल्डोले फुटबल खेललाई नै परिवर्तन गरेको कासेमिरो बताउँछन्। अन्तर्वाताका क्रममा कासेमिरोले रियल म्याड्रिडमा रोनाल्डोले खेल भन्दा बढी गोल गरेको तथ्यलाई पनि उल्लेख गरे।
“मेस्सी र क्रिस्टियानो दुवैले फुटबललाई परिवर्तन गरे। पहिला-पहिला खेलाडीहरुले एक सिजनमा बढीमा २०-२५ गोल गर्थे। तर उनीहरुले एकै सिजनमा ४०,५० देखि ६० सम्म गोल गरे। फुटबललाई उनीहरुले धेरै परिवर्तन गरे।”,कासेमिरोले भने,”क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडका लागि खेलेका खेलभन्दा धेरै गोल गरेका छन्। यो पक्कै पनि सामान्य कुरा होइन। जब यस्ता खेलाडीले क्लब छाड्छन् भने त्यसको असर पक्कै पर्छ।”
विश्वकै ठूला क्लबहरु मध्ये एक रहेका कारण बार्सिलोना पनि मेस्सी बिना अगाडी बढ्ने कासेमिरोले विश्वास व्यक्त गरे। नयाँ वास्तविकतालाई आत्मसात गरेर अगाडी बढ्न बार्सिलोनालाई उनको सुझाव छ।
उनले भने,”बार्साले यो नयाँ वास्तविकतालाई आत्मसात गर्नुपर्छ। म्याड्रिडले परिस्थितिलाई सुधार्यो। र बार्सिलोनाले पक्कै पनि त्यस्तै गर्नेछ। किनभने यी क्लबहरू विश्वका सबैभन्दा ठूला क्लब हुन्।”