काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषय झन् पेचिलो बन्दै गएको छ । पाँच दलीय सत्ता गठबन्धनभित्र एमसीसी परियोजना संसद्मा पेस गर्ने विषयमा सहमति नजुट्दा गठबन्धनको भविष्यसमेत संकटउन्मुख छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजनालाई जसरी पनि संसद्बाट अघि बढाउने पक्षमा छन् । तर, सत्ता गठबन्धनभित्रकै मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने सो विषयमा असहमति राख्दै आइरहेका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार दाहाल र नेपाल दुवै नेतालाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएर एमसीसी अघि बढाउन सहयोग मागेका थिए ।
तर, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले एमसीसी अघि बढाए गठबन्धन र स्थानीय तह निर्वाचनमा असर गर्ने भन्दै निर्वाचनपछि साझा सहमतिबाट अघि बढाउने गरी अघि बढ्न देउवालाई आग्रह गरे ।
‘प्रधानमन्त्रीले एमसीसी जसरी पनि अघि बढ्छ, सहयोग गर्नुस् भनेर दाहाल र नेपाललाई आग्रह गर्नुभयो तर उहाँहरू दुवैले यथास्थितिमा सहयोग गर्न नसकिने जवाफ दिनुभयो, उहाँहरूको प्रस्ताव स्थानीय तह निर्वाचनपछि एमसीसीमा साझा धारणासहित अघि बढौं भन्नेछ,’ प्रधानमन्त्रीनिकट नेपाली कांग्रेसका एक नेताले राजधानीसँग भने ।
दाहाल र नेपालको सो आग्रहपछि प्रधानमन्त्री देउवाले भने एमसीसीलाई संसद्मा टेबुल गर्न दिन भनेका थिए । सो क्रममा उनले संसद्मा एमसीसी पेस भइसकेपछिको बाँकी प्रक्रियामा आफ्नो निर्णय लिन दाहाल र नेपाललाई आग्रह गरेका छन् ।
तर, नेकपा एसका अध्यक्ष नेपालले जबरजस्ती एमसीसी संसद्मा टेबुल गर्न खोजे घोषित स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिन सक्ने चेतावनी प्रधानमन्त्रीलाई दिएका छन् ।
‘जबर्जस्ती एमसीसी अगाडि बढाए चुनावको वातावरण बिथोलिन सक्छ, घोषित मितिमा चुनाव नहुन सक्छ, एमसीसी अघि बढाउने कि चुनाव गर्ने ?,’ नेपालले प्रधानमन्त्रीलाई प्रश्न गर्दै बैठकमा सोधेका थिए ।
सत्ता गठबन्धनभित्र रहेको दल जसपा भने एमसीसीका विषयमा अलमलमा छ । अध्यक्ष उपेन्द्र यादवले एमसीसी’bout प्रस्ट धारणा दिएका छैनन् भने अर्का अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी जसरी पनि तत्काल अघि बढाउनुपर्ने पक्षमा छन् । गठबन्धनकै अर्को घटक राष्ट्रिय जनमोर्चा भने एमसीसीको विपक्षमा छ ।
शनिबारको छलफलपछि माधव नेपालले आफ्ना दलका केही नेताहरूलाई प्रधानमन्त्रीसँग भएको संवाद’bout जानकारी गराउँदै स्थिति ठीक नभएको सुनाएका छन् । नेपालले बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतका नेताहरूसँग प्रधानमन्त्रीसँगको भेटपछि कुराकानी गरेका थिए ।

