ह्वात्तै बढ्यो सुनको मूल्य, आज सुन ४ सय ३ दिनकै महँगो !

काठमाडौँ – फागुन महिनाको पहिलो दिन नै सुनको मूल्य बढेको छ। माघ महिनाको अन्तिम साता लगातार बढेको सुनको मूल्य फागुन महिनाको पहिलो दिन पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ५ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९५ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९५ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

गत महिना सुनको मूल्य

माघ महिनामा छापावाला सुन ९१ हजार ८ सय रुपैंयाँ देखि ९४ हजार ४ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ९१ हजार ३ सय देखि ९३ हजार ९ सय रुपैंयाँ सम्ममा कारोबार भएको थियो।

सुन एक वर्ष भन्दा बढी समयकै महँगो

माघ महिनाको अन्तिम सातामा लगातार भएको वृद्धि र आज भएको उच्च वृद्धिले सुनलाई एक वर्ष भन्दा बढी समयकै महँगो बनाएको छ। आज कायम भएजति सुनको मूल्य गएको पौष महिना भन्दा पछि कुनै पनि दिन भएको थिएन। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य गत वर्षको पौष २२ गते पछिकै महँगो हो। यस हिसाबले आज सुन ४ सय ३ दिनकै महँगो भएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८११:१०

चोलेन्द्र विरुद्ध महाभियोग, प्रधानन्यायाधीशबाट सोझै निलम्बित !