“पिएसजीसँग मेस्सी, नेयमार र एम्बाप्पे छन्, रियलले जित्ने चान्स नै छैन”

एजेन्सी – पूर्व फ्रान्सेली डिफेन्डर लिलियन थुरामले च्याम्पियन लिगमा रियल म्याड्रिडलाई पेरिस सेन्ट जर्मेन(पिएसजी)ले हराउने बताएका छन्। च्याम्पियन्स लिगको नकआउट चरणमा पिएसजी र रियल आमने-सामने हुनु अगाडी थुरामले रियललाई पिएसजीले पराजित गर्ने बताएका हुन्।

स्पेनिस मिडिया मार्कासँग कुराकानी गर्नेक्रममा थुरामले लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता खेलाडी रहेका टोलीले हार्ने सम्भावना आफूले कम देखेको बताए। मंगलबार राति हुने खेलमा रियल भन्दा पिएसजी राम्रो रहेको कुरा प्रमाणित हुने उनको भनाई छ।

“मलाई लाग्छ कि यो खेल पिएसजीले जित्छ। मेस्सी, नेयमार र एम्बाप्पे जस्ता खेलाडी भएको पिएसजीले हार्ने कमै सम्भावना म देख्छु। पिएसजी नकआउट हुन गार्है छ, किनकि उनीहरुसँग विश्वस्तरीय खेलाडीहरु छन्।”,मार्कासँग कुराकानी गर्नेक्रममा थुरामले भने।

मेस्सी जस्ता फरवार्ड भएको पिएसजीसँग विश्वकै उत्कृष्ट गोल किपर देखि डिफेन्डर सम्म रहेको हुँदा पिएसजी च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्ने दावी गरे। रियल विरुद्धको खेलमा पिएसजी हावी हुने उनको अनुमान छ।

उनी भन्छन्,”मेस्सीले खेलमा ठूलो फरक पार्न सक्छन्। पिएसजीसँग विश्वकै उत्कृष्ट गोलकिपर पनि छन्। त्यति मात्रै होइन मार्किन्होस, किम्पेम्बे जस्ता उत्कृष्ट डिफेन्डर पनि पिएसजी सँगै छन्। त्यसैले मलाई लाग्छ पिएसजीले जित्ने बढी सम्भावना छ।”

च्याम्पियन्स लिगको नकआउट चरणमा रियल र पिएसजी भिड्दैछन्। पहिलो लेग पिएसजीको घरेलु मैदानमा हुनेछ। खेल मंगलबार राति १ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१७:२३

आफ्नै टिममेट माथि थुक्न थाले रोनाल्डो, गोल गर्न नसकेको निराशा ? [भिडियो सहित]