एजेन्सी – माउरिसियो पोचेटिनोको पेरिस सेन्ट जर्मेन(पिएसजी)मा लामो समय नरहने स्पष्ट भएको छ। पिएसजीका अधिकारी र पोचेटिनो बीच सम्बन्ध क्रमिक रुपमा बिग्रँदै जाँदा उनी लामो समय पिएसजीमा नरहने भएका हुन्।
पिएसजी र माउरिसियो पोचेटिनो बीचको सम्बन्ध टुट्ने अवस्थामा पुगिसकेको चर्चित खेल मिडिया ‘गोल’ले जनाएको छ। गोलका अनुसार पिएसजी र पोचेटिनो बीचको सम्बन्ध जति बेला पनि टुट्न सक्छ।
गत महिना पिएसजीले कोपा डे फ्रान्सको अन्तिम १६बाटै बाहिरिएको थियो। सो पराजय पश्चात पिएसजीले पोचेटिनो माथि थप दबाव बढाएको र त्यसले सम्बन्ध बिग्रन थालेको बताइन्छ।
पिएसजीका उच्च अधिकारीहरुसँग पोचेटिनोको सम्बन्ध यस अगाडी देखि नै राम्रो छैन। त्यस्तै खेल निर्देशक लियोनार्डोसँगको सम्बन्ध पनि पहिला नै बिग्रिसकेको अवस्था छ।
बढ्दै तिक्तता
जनवरी ट्रान्सफर विन्डोमा पोचेटिनोले केहि खेलाडीहरु पिएसजीमा भित्र्याउन चाहेका थिए। उनले काम लाग्न सक्ने केहि खेलाडीहरुको सूची पनि पिएसजीलाई दिएका थिए। तर पोचेटिनोको मागलाई पिएसजीले बोर्डले सम्बोधन नै गरेन। त्यसले पनि पोचेटिनोलाई थप चोट पुर्याएको छ। त्यस्तै पिएसजीको स्क्वाडको विषयमा पनि पोचेटिनोले स्वतन्त्र भएर निर्णय गर्न पाइरहेका छैनन्। सो विषयमा पिएसजीका अधिकारीहरुले सिधै हस्तक्षेप गरिरहेका छन्।
पोचेटिनोले छाडे लगतै जिदान आउने
विभिन्न मिडियाहरुमा आएका समाचार अनुसार पोचेटिनोले छाडे पछि पिएसजीको जिम्मेवारी जिनेदिन जिदानले सम्हाल्नेछन्। पिएसजी र जिदान बीच यस सम्बन्धमा निरन्तर छलफल भइरहेको छ। त्यस्तै पोचेटिनो भने पिएसजी छाडेपछि म्यानचेस्टर युनाइटेड जान सक्नेछन्।

