थिबाउट कोर्टोइसले च्याम्पियन्स लिगमा चेल्सी र रियल म्याड्रिडबाट छ पटक लिग वान टोलीको सामना गरे पनि पेरिस सेन्ट-जर्मेन (पीएसजी) विरुद्ध जित निकाल्न सकेका छैनन्।

लस ब्लान्कोसले मंगलबार राती पीएसजीसँग च्याम्पियन्स लिग राउन्ड अफ १६ को पहिलो लेगमा खेल्नेछन् र फ्रान्सेली टोलीविरुद्ध आफ्नो पहिलो जित हात पार्दै आफ्नो कर्स तोड्ने दाउमा हुनेछन्। २०१४/१५ सिजनमा पेरिसमा चेल्सीले १-१ को बराबरी खेल्दा ब्लु डेभिल्सका लागि बेल्जियमका शट-स्टपर गोलरक्षक थिए। तर चेल्सीले इङ्गल्याण्डमा पीएसजीलाई हराउन सकेन र २-२ को बराबरी पछि अन्तिम १६ मा अवे गोल नियमको आधारमा प्रतियोगिताबाट बाहिरिएका थिए।

चेल्सीले अर्को सिजन फेरि पीएसजीको सामना गर्यो, जसमा लिग १ टोलीले च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुग्नका लागि दुवै खेल २-१ ले जित्यो। रियल म्याड्रिडमा आफ्नो दोस्रो सिजनमा पीएसजी र कोर्टोइस बीच फेरि भेट भयो, जसमा समूह चरणका दुई खेलमा बेल्जियन स्टारले फ्रान्समा ३-० को हार बेहोर्दा एस्टाडियो सान्टियागो बर्नाबेउमा २-२ को बराबरी खेल सकिएको थियो।

यस्तोमा, बेल्जियम अन्तर्राष्ट्रियले पीएसजीसँग छ खेलमा तीन हार र तीन बराबरीमा १२ गोल खाएका छन्। त्यस्तै, पीएसजीका स्टार खेलाडी लियोनल मेस्सी विरुद्ध पनि पूर्व चेल्सी स्टारको नम्बर राम्रो छैन। रियल म्याड्रिड करियरमा मेस्सी विरुद्ध कोर्टोइसले एक गोल पनि नाबेहोरेपनि बेल्जियन स्टार चेल्सी र एथलेटिको म्याड्रिडमा हुँदा मेस्सीले उनको विरुद्ध ९ गोल गरेका छन्। २९ वर्षीय गोलकिपर मेस्सीका मनपर्ने शिकार मध्ये एकमा पर्छन्।

कोर्टोइस युरोपमा यो सिजन गोलमा बलियो देखिएका छन्। उनले रियल म्याड्रिडको छ समूह चरणका खेलहरूमा केवल तीन गोल खाँदै र चार क्लिन-सिट राख्न सफल भएका छन्। तर मेस्सी र पीएसजीसँग भने उनको तथ्यांक खराब रहेको छ। उनी अब ग्रानाडा र भिल्लारियल विरुद्धको अन्तिम दुई खेलमा एक गोल पनि नबेहोरेको अवस्थामा पार्क डेस प्रिन्सेस पिचमा जानेछन्।

