एजेन्सी – रोबर्ट लेवान्डोस्कीले किलियन एम्बाप्पे र एर्लिङ हालाण्ड लियोनेल मेस्सी तथा क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारी बन्न सक्नेमा शंका व्यक्त गरेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा लेवान्डोस्कीले एम्बाप्पे-हालाण्ड मेस्सी-रोनाल्डोको उत्तराधिकारी बन्न सक्छन् नै भन्ने अवस्था नरहेको बताएका हुन्।
फ्रान्स फुटबलसँग कुराकानी गर्नेक्रममा लेवान्डोस्कीले एम्बाप्पे-हालाण्डमा क्षमता भएपनि मेस्सी र रोनाल्डो जस्तो एक दशक भन्दा लामो समय राज गर्न सक्छन् भन्ने पक्का नरहेको बताए। त्यसक्रममा उनले आउने केहि वर्षमा थप युवा खेलाडीको उदय हुन सक्ने सम्भावनालाई पनि उल्लेख गरे।
“एम्बाप्पे र हालाण्ड दुवैसँग क्षमता छ र यो स्पष्ट छ। तर आउने दुई वा तीन वर्षमा अन्य युवा स्ट्राइकरहरुको उदय हुँदैन भनेर कसले भन्न सक्छ। नयाँ खेलाडीहरुले एम्बाप्पे र हालाण्डलाई पछि पार्न पनि त सक्छन्।”,लेवान्डोस्कीले भने।
मेस्सी र रोनाल्डो जस्तो एम्बाप्पे-हालाण्डले पनि फुटबलमा एक दशक भन्दा बढी राज गर्छन् भन्ने कुरालाई आफू कल्पना पनि गर्न नसक्ने लेवान्डोस्कीले बताए। आउने दशकमा अन्य युवाहरु पनि अगाडी आउने र उनीहरु उत्कृष्ट हुन लड्ने लेवान्डोस्कीको भनाई छ।
उनले भने,”म एक क्षणको लागि कल्पना पनि गर्न सक्दिन कि उनीहरूले मेस्सी र रोनाल्डोले पछिल्लो १२ वर्षमा गरेको जस्तो राज गर्न सक्छन्। दुवै खेलाडीले जित्नै पर्ने हरेक उपाधि जितेका छन्। मलाई लाग्छ कि आउँदो १० वर्षमा धेरै खेलाडीहरू विश्वमा उत्कृष्ट हुन प्रतिस्पर्धा गर्नेछन्।”

