एजेन्सी – रियल म्याड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले आफ्नो टीमको लागि जहिले पनि लड्न तयार रहेको बताएका छन्। च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा बेन्जेमाले आफ्नो टोलीका लागि लड्न सधैं तयार हुने बताएका हुन्।
बेन्जेमाले मानसिक रुपमा पिएसजी विरुद्ध आफू तयार रागेको बताए। तर शारीरिक रुपमा भने के कस्तो अवस्था हुन्छ भन्ने कुरा खेल अगाडी नै स्पष्ट हुने उनको भनाई छ। बेन्जेमाले क्लबको प्रशिक्षण पछि मात्र पिएसजी विरुद्ध खेल्ने नखेल्ने कुराको टुंगो लाग्ने बताए।
“म सधैं मेरो टोलीको लागि लड्न तयार छु। त्यस्तो थिएन भने म म्याड्रिडमा बस्ने थिएँ, पेरिस आउने थिइन। जोखिम मोल्न म तयार छु, तर चोटिल नहुने गरी जोखिम मोल्नुपर्ने हुन्छ।”,बेन्जेमाले भने।
पिएसजी विरुद्धको खेललाई बेन्जेमाले महत्वपूर्ण भने। खेल्न सकेको खण्डमा पिएसजी विरुद्ध आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने बेन्जेमाको भनाई छ। उनले भने,”म पूर्णरुपमा फिट हुन मिहिनेत गरिरहेको छु। मानसिक रुपमा म तयार छु। तर शारीरिक रुपमा भने तयार छु-छैन प्रशिक्षण पछि थाहा हुनेछ। खेल्न पाएँ भने म आफ्नो सबै दिनेछु।”
बेन्जेमाले आफ्नो अनुपस्थितिमा पनि रियल म्याड्रिडले धेरै राम्रो गरिरहेको दावी गरे। बेन्जेमाले पिएसजी कठिन टोली रहेको पनि बताए।

