काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको तयारी भएको विरोधमा विभिन्न राजनीतिक दलहरुले नेपाल बन्दको घोषणा गरेका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र समाजवादी लगायतका दलहरुले संयुक्त रुपमा नेपाल बन्दको घोषणा गरेका हुन्।
नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले मङ्गलबार अपराह्न संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीको विरोधमा नेपाल बन्द सहितका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन्।
राष्ट्रिय स्वाधीनतामाथि खतरा निम्त्याउने एमसीसी कम्प्याक्टका विरुद्ध उच्च तहको जुझारु एवम् प्रभावकारी सङ्घर्षको कार्यक्रमबाट देउवा सरकार र नेपाली दलालहरूको फागुन ४ गते संसद्मा एमसीसी कम्प्याक्ट पेस गर्ने र पारित गर्ने षड्यन्त्रलाई परास्त गर्न नेपाल बन्दको आह्वान गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
“हाम्रो राष्ट्रिय स्वाधीनतामाथि खतरा निम्त्याउने एमसीसी कम्प्याक्टका विरुद्ध उच्च तहको जुझारु एवम् प्रभावकारी सङ्घर्षको कार्यक्रमबाट देउवा सरकार र नेपाली दलालहरूको फागुन ४ गते संसद्मा एमसीसी कम्प्याक्ट पेस गर्ने र पारित गर्ने षड्यन्त्रलाई परास्त गर्नु हामी सङ्घर्षरत ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको आफ्नो कर्तव्य र राष्ट्रिय स्वाधीनताको आन्दोलनको ऐतिहासिक आवश्यकता ठानेका छौँ । विषयको यही गाम्भीर्यलाई दृष्टिगत गरी फागुन १ गते घोषणा गरिएको देशव्यापी विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मक रूपमा विकास गरी तपसिलबमोजिम सार्वजनिक गरेका छौँ ।”,जारी विज्ञप्तिमा भनिएको छ।