गयराती फुटबल जगतका दुई सुपरस्टार खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका लागि दुई फरक कहानी रहे। मेस्सीको पीएसजीले च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा रियल म्याड्रिडको सामना गर्दा रोनाल्डोको युनाइटेड प्रिमियर लिग खेलमा ब्राइटन विरुद्ध भिडेको थियो।

मेस्सी र रोनाल्डो दुबैको टोली आ-आफ्नो खेलमा जीत निकाल्न सफल भए तर व्यक्तिगत रूपमा भने कहानी अलग रह्यो। मेस्सीले रियल विरुद्ध पाएको पेनाल्टी मिस गर्दै आफ्नो टोलीलाई अग्रता दिने मौका गुमाएका थिए भने पोर्चुगिज स्टारले २०२२ मा आफ्नो पहिलो गोल गर्दै रेड डेभिल्सलाई निकै महत्वपूर्ण खेलमा अग्रता दिलाउन सफल भए।

सबैभन्दा आश्चर्यजनक कुरा के छ भने केही मिनेटको अन्तरमा सुरु भएका दुई खेल धेरै जसो समय एकसाथ चलेका थिए। यस्तोमा, च्याम्पियन्स लिग खेलको ६२ औं मिनेटमा पाएको पेनाल्टीलाई पीएसजी स्टार मेस्सीले गोलमा परिणत गर्न असफल भए। जसको ठ्याक्कै एक मिनेटपछि रोनाल्डोले वर्षको पहिलो गोल गर्दै आफ्नो क्लबलाई महत्वपूर्ण तीन अंक जोड्न प्रमुख भूमिका खेले। रोनाल्डोको गोलको मद्दतमा २-० को जीत निकाल्दै युनाइटेड लिग तालिकाको चौंथो स्थानमा उक्लिएको छ।

मेस्सीले गरेको पेनाल्टी मिसले यस खेलमा भने त्यति फरक पारेन, एम्बाप्पेले खेलको अन्तिम समयमा गोल गर्दै फ्रेन्च क्लबलाई जीत दिलाउन सफल भए। तर च्याम्पियन्स लिगको नक-आउट खेल समग्रमा निस्केको नतिजामा भर पर्ने हुँदा यो विफल प्रहारले मेस्सीलाई दोस्रो लेगमा सताउन सक्छ।

