एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि छनौट हुने लगभग पक्का जस्तै भएको छ। च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा रवाफिलो जित निकालेसँगै सिटी क्वाटरफाइनलका लागि छनौट हुने लगभग पक्का भएको हो।
सिटीले प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपी विरुद्ध शानदार जित निकाल्यो। सिटीले स्पोर्टिङलाई उसकै मैदानमा ५-० को गोल अन्तरले पराजित गरेको हो।
सिटीको जितमा बर्नाडो सिल्भा, रियाद महारेज, फिल फोडेन र रहिम स्टर्लिङले गोल गरे। स्पोर्टिङ विरुद्ध सिल्भाले दुई गोल गर्दा अन्य खेलाडीहरुले भने एक-एक गोल गरेका थिए।
स्पोर्टिङ विरुद्ध सिटीले गोलको वर्षा नै गरेको थियो। पाँच मध्ये चार गोल पहिलो हाफमा भएको थियो भने एक गोल दोस्रो हाफमा भएको थियो। सिटीले खेलको सातौँ मिनेटमै रियाद महारेजको गोलबाट अग्रता लिएको थियो। अग्रता लिएको १० मिनेटमै सिटीले अग्रता दोब्बर बनाएको थियो। १७औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेका थिए।
३२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३-० को अवस्थामा पुर्याएका थिए। ४४औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। सिटीले पहिओ हाफमै जित सुनिश्चित गरेको थियो। त्यस्तै सिटीका लागि पाँचौं गोल ५८औं मिनेटमा रहिम स्टर्लिङले गरेका थिए।
पहिलो लेगबाटै सिटी क्वाटरफाइनल प्रवेश गर्ने पक्का भएको छ। अब सिटीले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ। विपक्षी टोलीको घरेलु मैदानमै पाँच गोल गरेको सिटीले घरेलु मैदानमा धेरै गोल बेहोर्ने सम्भावना कमै देखिन्छ।

