रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी किलियन एमबाप्पेलाई लस ब्लान्कोसविरुद्धको उत्कृष्ट प्रदर्शनपछि युरोपकै उत्कृष्ट खेलाडीको रुपमा वर्णन गरेका छन्।

माउरिसियो पोचेटिनोको टोलीले मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ला लिगा दिग्गजहरूलाई १-० ले हराएको छ। रियल म्याड्रिड खेलको अधिकांश समय पीएसजीको आक्रमणकारी खतराको विरुद्धमा दृढ उभियो, तर २३-वर्षीय खेलाडीलाई अन्तिम सिठ्ठी वाज्नुभन्दा केही सेकेन्ड अघि गोल गर्नबाट भने रोक्न सकेन।

एन्सेलोटीले मंगलबार रातिको गोलकर्ता अहिले युरोपको उत्कृष्ट खेलाडी भएको महसुस गरे र उनलाई रोक्न नसक्ने भनी फ्रेन्च स्टारको प्रशंसामा उत्रिए। “एमबाप्पे युरोपेली फुटबलका उत्कृष्ट खेलाडी हुन्। एमबाप्पे रोक्न नसक्ने भएका छन्, हामीले उनलाई नियन्त्रण गर्ने प्रयास गरेका हौँ। [एडर] मिलिटाओले धेरै राम्रो प्रदर्शन गरे, तर एम्बाप्पे सधैं केही न केही नयाँ ट्रिक गर्ने खेलाडी हुन्,” डेली मेलले एन्सेलोटीलाई उद्धृत गरेको थियो।

पीएसजीको पोस्टमा एक प्रहार पनि टार्गेटमा राख्न असफल भएको स्पेनिस महारथी खेलको पूरा समय फ्रेन्च क्लबको आक्रमण रोक्ने प्रयासमा नै लागेको थियो। थिबाउट कोर्टोइसले लियोनल मेस्सीको पेनाल्टी पनि बचाए। तर, खेलको अन्तिम मिनेटमा एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडको प्रयासलाई व्यर्थ साबित गरिदिए। गोल गर्नको लागि गरेको प्रयासमा देखिएको फ्रान्सेली खेलाडीको कौशलले एन्सेलोटीलाई छक्क पार्यो।

पीएसजीले मंगलबार पेरिसमा १-० को जित दर्ता गरेपछि एन्सेलोटीको टोलीले, जब दुई क्लब स्पेनमा ९ मार्चमा फेरि भिड्नेछन्, निकै कठिन परिक्षा पास गर्नुपर्ने देखिन्छ। के स्पेनिस क्लबले सान्टियागो बर्नाबेउमा पछि परेको स्थिति उल्ट्याउन सक्ला त ?

