युईएफए च्याम्पियन्स लिगको सबैभन्दा ठूलो खेलहरू मध्ये एक मंगलबार राति खेलिएको थियो जब पेरिस सेन्ट-जर्मेन (पीएसजी) र रियल म्याड्रिड पार्क डे प्रिन्सेसमा एक-अर्काको सामना गरेका थिए।

दुबै क्लब प्रतियोगिता जित्ने प्रमुख दाबेदार क्लब रहेका कारण यो खेल निकै प्रतिस्पर्धात्मक हुने पक्का रहेको थियो। हरेक खेल प्रेमीलाई थुप्रै सुपरस्टार संलग्न भएको खेल हेर्न निकै मनपर्छ र यो खेलमा ठ्याक्कै त्यस्तै थियो। लियोनल मेस्सी, किलियन एमबाप्पे, करिम बेन्जेमा, लुका मोड्रिक, एन्जल डि मारिया, नेयमार र टोनी क्रुस सबै गयरातीको खेलमा पिचमा उपस्थित थिए।

मंगलबारको रोमान्चक खेलको अन्तिम समयमा फ्रेन्च युवा स्टार खेलाडी किलियन एम्बाप्पेको गोलको मद्दतमा पीएसजी १-० को जीत निकाल्न सफल भयो। डेभिड बेकह्याम, एडिन्सन काभानी र ज्लाटन इब्राहिमोभिकले पीएसजीमा ठूलो प्रभाव पारेका छन् तर एम्बाप्पेको जस्तो पोस्टर बोइ कुनै पनि खेलाडी पेरिस क्लबमा बन्न सकेका थिएनन्।

यस समयमा पनि क्लबमा फुटबल इतिहास कै सर्वश्रेष्ठ मध्ये एक लियोनल मेस्सी, नेयमार जस्ता निकै उत्कृष्ट खेलाडी रहेका छन्। तर पनि २३ वर्षीय स्टार खेलाडी पीएसजीमा प्रमुख स्टारको रूपमा प्रदर्शन गर्दै आएका छन्। उनले यस सिजन मेस्सीलाई पनि निकै पछि छाडेका छन् र ब्राजिलियन स्टार नेयमारलाई पछिल्ला केही सिजनबाट नै पछाडी छाड्दै आएका छन्। यस्तोमा हाल पेरिस क्लबका मुख्य स्टार किलियन एम्बाप्पे नै हुन् भन्दा फरक नपर्ला।

