एजेन्सी – च्याम्पियन्स लिग राउण्ड अफ १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियल म्याड्रिड विरुद्ध महत्वपूर्ण जित निकाल्यो। पिएसजीले खेललाई धेरै हदसम्म नियन्त्रणमा राखेको थियो। खेलभर पिएसजीको तर्फबाट २१ प्रहार भएका थिए। ती मध्ये ८ प्रहार टार्गेटमा थिए।
पिएसजीको तर्फबाट लगातार प्रहार भएपनि रियल म्याड्रिडका डिफेन्डर र गोलरक्षकले धेरै राम्रो प्रदर्शन गर्दा जित निकाल्न पिएसजीले अन्तिम समय सम्म मिहिनेत गर्न परेको थियो। पिएसजीको तर्फबाट भएका अधिकांश प्रहार एम्बाप्पेको तर्फबाट भएका थिए। धेरै प्रहार सफल नभएपनि एम्बाप्पेले खेलको अन्त्यमा गोल गरी छाडे।
पिएसजीलाई जिताएका एम्बाप्पे बारे यति बेला सर्वत्र चर्चा भइरहेको छ। रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले समेत उनको प्रशंसा गरिसकेका छन्। उनले एम्बाप्पे युरोपेली फुटबलकै उत्कृष्ट खेलाडी रहेको बताए।
यस्तै पिएसजीका गोलरक्षक जियानलुजी डोनारुम्माले पनि एम्बाप्पेको खुलेर प्रशंसा गरे। डोनारुम्माले एम्बाप्पेलाई एलियनको संज्ञा दिए। एम्बाप्पे अविश्वसनीय खेलाडी रहेको डोनारुम्माको भनाई छ।
त्यसक्रममा डोनारुम्माले एम्बाप्पेको स्तर प्रशिक्षणमा समेत देखिने बताए। एम्बाप्पेले आफ्नो भविष्य बारे जे जस्तो निर्णय गरेपनि उनी पिएसजीमा रहुनजेल आफूहरु रमाउने डोनारुम्माको भनाई छ।
“एम्बाप्पे एलियन हुन्। उनी अविश्वसनीय छन् र त्यो हामी प्रशिक्षणमा पनि देखिरहेका हुन्छौं। उनी आउने सिजन के गर्छन् थाहा छैन, तर उनी हामीसँगै रहुनजेल सम्म रमाउने छौँ।,डोनारुम्माले भने।

