बार्सिलोना फर्किने इनिएस्टाको सपना, भन्छन्-‘बार्सिलोना नै मेरो घर हो’

आफूले अझै पनि क्लबलाई आफ्नो “घर” मान्ने स्वीकार गर्दै आन्द्रेस इनिएस्टाले बार्सिलोनामा सम्भावित पुनरागमनको ढोका खोलेका छन्। हाल जापानको भिसेल कोबेबाट खेलिरहेका मिडफिल्डरले क्याटालुनिया फर्कने इच्छा व्यक्त गरेका हुन्।

इनिएस्टाले लगभग दुई दशक लामो समय क्याम्प नोउमा आफ्नो करियरको अधिकांश समय बिताए जहाँ उनले ला लिगा र च्याम्पियन्स लिगका साथै थुप्रै उपाधि जित्न सफल भए। स्पेनिस मिडफिल्डरले लियोनेल मेस्सी र जाभी जस्ता स्टार खेलाडीको साथमा बार्सा क्लब इतिहास कै सबैभन्दा उत्कृष्ट टोलीमा एकमा मुख्य भूमिका खेलेका छन्। जसपछि सन् २०१८ मा जापानको भिसेल कोबेका लागि उनले बार्सिलोना छाडेका थिए।

आउँदो मे महिनामा स्पेनिस माएस्ट्रो ३८ वर्षको हुनेछन् तर अहिले नै फुटबलबाट सन्यास लिने उनको कुनै सोच छैन र यदि अवसर आयो भने २०१० का विश्व विजेता खेलाडी बार्सिलोना फर्कन चाहन्छन्। “म बार्सिलोना फर्कन चाहन्छु,” उनले ट्विचमा जेरार्ड रोमियोलाई भने, “म संस्थालाई मद्दत गर्न चाहन्छु। त्यहाँ धेरै चरहरू संलग्न छन् र भविष्यमा के हुनेछ भनेर जान्न गाह्रो छ। बार्सा मेरो घर हो र म त्यहाँ भन्दा राम्रो कतै हुन सक्दिन। अहिले मलाई खेलको बारेमा धेरै सोच्न मनपर्छ। यही कुराले मलाई आज सबैभन्दा बढी आकर्षित गरेको छ।”

सन्यास लिएपछि कोचिङमा जाने योजना बारे गरिएको प्रश्नमा इनिएस्टाले थपे: “समय मेरो विरुद्धमा दौडिरहेको छ, तर मैले सन्यास लिँदा आफूलाई कहाँ देख्छु, मलाई थाहा छैन। धेरै पटक मेरो दिमागमा यो कुरा आउँछ कि म प्रशिक्षकको उपाधि प्राप्त गर्न चाहन्छु वा खेल निर्देशक बन्न तयार छु। म फुटबलसँग जोडिन चाहन्छु, पक्कै पनि।”

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१६:५२

म्याराडोनाले ५ वर्ष अगाडी नै रियललाई दिएका थिए बेल बेचेर एम्बाप्पे भित्र्याउन सुझाव !