एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस महारथी रियल म्याड्रिड फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग पराजित भयो। सो खेलमा पिएसजीका युवा स्टार किलियन एम्बाप्पे निर्णायक सावित भएका थिए। एम्बाप्पेले रियल विरुद्ध अन्तिम समयमा गोल गरेका थिए।
एम्बाप्पे लामो समय देखि रियलको टार्गेटमा रहेका खेलाडी हुन्। रियलले गएको केहि सिजन देखि एम्बाप्पेलाई भित्र्याउने प्रयास गरिरहेको छ। गत वर्ष रियल एम्बाप्पेका लागि २ सय मिलियन सम्म तिर्न तयार भएको थियो। तर अहिले आएर भने रियल एम्बाप्पेकै कारण च्याम्पियन्स लिगबाट बाहिरिने अवस्थामा पुगेको छ।
म्याराडोनाले सन् २०१७ मै दिएका थिए यस्तो सुझाव
यति बेला सन् २०१७ मा एम्बाप्पेको विषयमा रियललाई म्याराडोनाले दिएको सुझाव चर्चामा आइरहेको छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार सन् २०१७ मै म्याराडोनाले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई एम्बाप्पे भित्र्याउन सुझाव दिएका थिए। बताइएअनुसार उनले पेरेजलाई ग्यारेथ बेल बेचेर त्यो रकम एम्बाप्पेमा लगाउन भनेका थिए। तर त्यस बेला पेरेजले म्याराडोनाको सुझावलाई मानेनन्।
“एम्बाप्पे धेरै राम्रो खेलाडी बन्न गइरहेका छन् भनेर मैले त्यति बेलै पेरेजलाई भनेको थिएँ। तर पेरेजले रोनाल्डो र बेल छन् एम्बाप्पे किन चाहियो भने।”,म्याराडोनाले स्पेनिस पत्रकार मार्को रुइजलाई भनेका थिए। त्यसबेला म्याराडोनाले बेललाई बिक्री गर्न पेरेजले नमानेको बताएका थिए।

