एजेन्सी – युरोपका शिर्ष लिगहरुका ६० प्रतिशत भन्दा बढी खेलहरु सकिसकेको अवस्था छ। सिजन अन्त्य तर्फ अगाडी बढ्दै गर्दा युरोपियन गोल्डेन बुटको दौड पनि प्रतिष्पर्धात्मक बन्दै गइरहेको छ। गएको सिजन युरोपियन गोल्डेन बुट बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले जितेका थिए।
गत सिजन उनले जर्मन बुन्डेसलिगामा ४१ गोल गरेका थिए। रोबर्ट लेवान्डोस्की यस वर्ष पनि गोल्डेन बुटको मुख्य दाबेदारको रुपमा अगाडी आएका छन्। लेवान्डोस्कीले बुन्डेसलिगाको जारी सिजनमा २६ गोल गरिसकेका छन्। अन्य लिग भन्दा ४ कम खेल हुने बुन्डेसलिगामा लेवान्डोस्कीले २२ खेलमा नै २६ गोल गरेका हुन्।
लेवान्डोस्कीलाई बुन्डेसलिगामा पछ्याइरहेका बायर लेभरकुसेनका प्याट्रिक शिकले यूइएफए गोल्डेन बुट दौडमा पनि लेवान्डोस्कीलाई पछ्याइरहेका छन्। प्याट्रिकले बुन्डेसलिगाका १९ खेलमा १९ नै गोल गरिसकेका छन्। सिजनका बाँकी खेलमा हालको लयलाई कायम राखेको खण्डमा गोल्डेन बुट दौडमा उनले सबैलाई कडा टक्कर दिनेछन्।
त्यस्तै गोल्डेन बुट दौडको तेस्रो स्थानमा सिरी ‘ए’ क्लब लाजियोका सिरो इम्मोविले रहेका छन्। इम्मोविलेले सिरी ‘ए’का २१ खेलमा १९ गोल गरिसकेका छन्। इम्मोविलेलाई युभेन्टसका डुसान भ्लाहोभिकले पछ्याइरहेका छन्। जनवरीमा फिओरेन्टिनाबाट युभेन्टस पुगेका उनले फिओरेन्टिनाका लागि २१ खेलमा १७ गोल गरेका थिए।
युभेन्टस आएपछि पनि उनले २ खेलमा १ गोल गरिसकेका छन्। यससँगै डुसानको गोल संख्या घरेलु लिगमा १८ पुगेको छ। गोल्डेन बुट दौडमा रियल म्याड्रिडका करिम बेन्जेमा समेत रहेका छन्। बेन्जेमाले लालिगामा २१ खेल खेल्दा १७ गोल गरेका छन्।

