युभेन्ट्सले अग्रता जोगाउन सकेन, खेल बराबरीमै रोकियो !

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा टोरिनोसँग बराबरीमा रोकिएको छ । युभेन्ट्स घरेलु मैदानमा टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

एलिएन्ज स्टेडियम टोरिनोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सका लागि म्याथ्थिज डि लेग्टले गोल गर्दा टोरिनोका एन्ड्रिय बेलोट्टीले बराबरी गोल फर्काए ।

खेलको १३औं मिनेटमा म्याथ्थिज डि लेग्टको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । उनले जुआन कोर्डाडोको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई युभेन्ट्सले जोगाउन सकेन ।

६२औं मिनेटमा एन्ड्रिय बेलोट्टीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जोसिप ब्रेकालोको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीसँगै युभेन्ट्सले तेस्रो स्थानको नेपोलीसँगको अंक दुरीलाई अझै कम गर्ने मौका गुमाउँदा चौथो स्थानमा यथावत रहेको छ । युभेन्ट्सको २६ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको नेपोलीको ५३ अंक छ । टोरिनो २५ खेलबाट ३३ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

प्रकाशित : शनिबार, फागुन ०७, २०७८०८:५८

किन एम्बाप्पे पिएसजीमै रहने ? यस्ता छन् पाँच कारण !