एजेन्सी – लिभरपुलका मोहम्मद सलाह र साडियो मानेले प्रिमियर लिगमा एक नयाँ रेकर्ड बनाएका छन्। नर्विच सिटी विरुद्धको खेलमा माने र सलाह दुवैले गोल गरेसँगै प्रिमियर लिगको एक रेकर्ड तोडिएको हो।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा माने र सलाह दुवैले गोल गरेका थिए। तीन मिनेटको अन्तरमा दुवै खेलाडीले गोल गर्दा माने र सलाह प्रिमियर लिगमा एकसाथ सबै भन्दा बढी गोल गर्ने जोडी बने।
एकै खेलमा सलाह र माने दुवैले गोल गरेको यो ३० औं पटक हो। प्रिमियर लिगको इतिहाँसमा अहिले सम्म कुनै पनि जोडीले एकै खेलमा यति धेरै पटक गोल कहिले पनि गरेका थिएनन्।
नर्विच विरुद्ध पछि परेको अवस्थामा खेलको ६४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएको थियो। कोन्सटाटिनोसको पासमा मानेले ओभरहेड किकमा दर्शनीय गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेटमै सलाहले गोल गर्दै लिभरपुललाई जित तर्फ अगाडी बढाएका थिए। ६७औं मिनेटमा मोहम्मद सलाहले गोलरक्षक एलिसन बेकरको पासमा गोल गरेका थिए।
सलाह र माने लामो समय देखि लिभरपुलमा छन्। माने सन् २०१६ मा साउथह्याम्प्टनबाट लिभरपुल आएका थिए भने सलाह सन् २०१७ मा आएका थिए। त्यसयता दुवै लिभरपुलका लागि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। मानेले अहिले सम्म लिभरपुलका लागि २ सय ४६ खेल खेलेका छन्।
यस बीचमा उनले १ सय ८ गोल गरिसकेका छन्। त्यस्तै सलाहले भने लिभरपुलका लागि १ सय ५० गोल गरेका छन्। उनले २ सय ३३ खेलमा यति संख्यामा गोल गरेका हुन्।

