एजेन्सी – च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा नान्टेससँग स्तब्ध बनेको छ ।
पिएसजी नान्टेसको मैदानमा ३–१ ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न नान्टेसका रान्डल कोलो मुएनी, क्विन्टिन मेर्लिन र लुडोभिक ब्लासले गोल गरे । पिएसजीमा नेयमारले गोल फर्काएपनि हार टार्न सकेन ।
नान्टेसमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै रान्डल कोलो मुएनीको गोलबाट अग्रता लिएको थियो । उनले मोसेस सिमोनको पासमा गोल गर्न सफल भएका थिए । १६औं मिनेटमा क्विन्टिन मेर्लिनले गोल गर्दै नान्टेसको अग्रता दोब्बर पारे । उनले ओस्मन बुकारीको पासमा गोल गर्न सफल भएका थिए ।
लुडोभिक ब्लासले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि पिएसजी पहिलो हाफमै ३–० ले पछि परेको थियो । जर्जिन्हो वाइनाल्डमले पेनाल्टी बक्समा जिन चार्लेस क्यास्टेललेटोलाई फउल गरेपछि नान्टेसले पेनाल्टी पाएको थियो ।
४७औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई खेलमा फर्कने संकेत दिए । उनले लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । ५९औं मिनेटमा नेयमार पेनाल्टीमा चुके ।
गोलरक्षक एल्वान लाफन्टसँग वन अन वनको स्थितिमा रहँदा डिफेन्डर डेनिस एपिअले केलियन एमबाप्पेमाथि फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गरेको थियो । तर, नेयमारको फितलो पेनाल्टीलाई लाफन्टले सहजै बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी स्तब्ध हुन पुग्यो ।
यो हारसँगै पिएसजीले शीर्ष स्थानमा अग्रता मजवुत बनाउने अवसर गुमाएको छ । पिएसजी दोस्रो स्थानको मार्सेभन्दा १३ अंकले अघि छ । पिएसजी २५ खेलबाट ५९ अंक जोडेर शीर्षस्थानमै रहेको छ । पिएसजीलाई हराएको नान्टेस २५ खेलबाट ३८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

