गत सिजन बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गरेदेखि मेस्सीको प्रदर्शन निकै फितलो रहेको छ। उनले क्लबका लागि हालसम्म सबै प्रतियोगितामा मात्र ७ गोल गर्न सफल भएका छन्। यस्तोमा अर्जेन्टिनी सुपरस्टार खेलाडीको खुब आलोचना हुँदै आएको छ।

यसैबीच पीएसजीमा मेस्सीको मानसिक स्थिति ठिक नभएको प्रश्न उठेको छ। आरएमसी स्पोर्ट पण्डित इमानुएल पेटिटले फ्रेन्च क्लबमा आवद्ध भएदेखि नै मेस्सीको मानसिक स्थिति माथि प्रश्न उठाएका छन्। उनले ३४ वर्षीय स्टार अझै पनि बार्सिलोना बहिर्गमनबाट बाहिर निस्किन नसकेको र फ्रेन्च लिगमा अनुकूल हुन नसकेको पनि आरोप लगाएका छन्। तर पेटिटले यस बारेमा विस्तारमा भने बताएनन्।

“मलाई थाहा छ कि यो मान्छेसँग ठूलो अहंकार छ, तर कुनै समयमा, उनले यो बुझ्नु पर्छ कि जबसम्म ऊ ठीक छैन, विशेष गरी मानसिक रूपमा, ऊ फेरि बार्साको मेस्सी बन्न सक्षम हुनेछैन,” पेटिटले थपे, “मलाई आशा छ कि सिजनको अन्त्य सम्म, हामी महान मेसीलाई देख्न सक्षम हुनेछौं, तर यो समयमा भने यो सम्भव छैन।”

त्यस्तै, पेटिटका अनुसार पीएसजीमा मेस्सीको पतन भएको र एम्बाप्पेको रूपमा सुपरस्टार खेलाडीको उदय भएको छ। “मेस्सीलाई पिचमा हेर्दा मलाई साँच्चै पीडा हुन्छ। हामी सबैलाई उनी सफल भएको हेर्न मन छ, बार्सिलोनामा जस्तै चम्केको हेर्न मन छ,”पेटिटले आरएमसी स्पोर्टमा भने, “म मेस्सीलाई एमबाप्पे विरुद्ध खडा गर्न चाहन्न। तर धेरै महिनादेखि हामीले एउटा राजाको पतन र अर्कोको उदय देखिरहेका छौं।”

मेस्सीले रियल म्याड्रिड विरुद्धको दोस्रो लेगको खेलमा राम्रो प्रदर्शन गर्न सक्छन् वा आलोचना झनै चर्को हुनेछ कि भनेर हेर्नु रोचक हुनेछ।

