माने र फर्मिनो मध्ये एक लिभरपुलबाट आउट !

एजेन्सी – पत्रकार डीन जोन्सको भनाईलाई मान्ने हो भने आउने सिजन लिभरपुलका रोबर्टो फर्मिनो र साडियो माने मध्ये एक खेलाडी मात्रै लिभरपुलमा हुनेछन्। दुई मध्ये एक खेलाडीले आउने ट्रान्सफर विन्डो लिभरपुल छाड्ने जोन्सको दावी छ।

ट्रान्सफर मार्केटको राम्रो जानकारी राख्ने जोन्स मोहम्मद सलाह, माने र फर्मिनो घातक ट्रियोको अब अन्त्य हुने बताउँछन्। उनका अनुसार अब यो ट्रियोमा व्यापक परिवर्तन हुने सम्भावना देखिसकेको छ।

एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा जोन्सले आफूलाई माने र फर्मिनो मध्ये एक खेलाडीले लिभरपुल छाड्ने बारे जानकारी प्राप्त भइसकेको बताए। उनका अनुसार यी दुई मध्ये एक खेलाडीले लिभरपुलमा अन्तिम सिजन खेलिरहेका छन्।

“मलाई माने र फर्मिनो मध्ये एकले लिभरपुल छाड्ने कुरा भनिएको छ। तर दुई मध्ये कसले क्लब छाड्छन् भन्ने चाहिँ मलाई स्पष्टसँग थाहा छैन। कसले लिभरपुल छाड्छ, त्यो हेर्न रोचक हुनेछ।”,एक अन्तर्वार्ताका क्रममा जोन्सले भने।

यस अगाडी गत महिना मात्रै खेल मिडिया गोलले पनि मानेले लिभरपुल छाड्न सक्ने रिपोर्ट सार्वजनिक गरेको थियो। माने बार्सिलोना र रियल म्याड्रिड मध्ये एक क्लब जाने गोलको दावी रहेको थियो। हालको अवस्थालाई हेर्दा फर्मिनोले भन्दा पनि मानेले क्लब छाड्न सक्ने देखिन्छ। प्रशिक्षक योर्गेन क्लोप आफैं फर्मिनोलाई गुमाउन चाहँदैनन्।

डियाजको आगमन

कोलाम्बियन युवा स्टार लुइस डियाजको आगमनसँगै लिभरपुलको आक्रमणपङ्तिमा प्रतिष्पर्धा बढेको छ। डियाजलाई लिभरपुलले पोर्चुगिज क्लब पोर्टोबाट यसै जनवरीमा भित्र्याएको हो। डियाजका लागि लिभरपुलले झन्डै ४९ मिलियन युरो खर्च गरेको थियो।

क्लबका फरवार्डहरुको ढल्कँदै गरेको उमेरलाई ध्यानमा राखेर लिभरपुलले डियाजलाई भित्र्याएको बताइन्छ। फुटबलका जानकारीहरुका अनुसार डियाजको आगमनले फर्मिनोसँग-सँगै साडियो मानेका लागि समेत प्रतिष्पर्धा बढेको छ।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८१३:०४

२ यार्डबाट खाली पोष्टमा गोल गर्न सकेनन् रोनाल्डोले, धज्जी उड्यो [भिडियो सहित]