एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई जसरी पनि क्लबमा अड्याउने पेरिस सेन्ट जर्मेन(पिएसजी)को योजना रहेको छ। एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजीले अहिले सम्म कयौं प्रस्ताव एम्बाप्पे सामू प्रस्तुत गरिसकेको छ। पिएसजीको तर्फबाट भएका कुनै पनि प्रस्तावमा एम्बाप्पे सहमत हुन सकिरहेका छैनन्।
एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजी जुन सुकै हद सम्म जाने स्पष्ट छ। एम्बाप्पेलाई क्लबको दिर्घकालिन योजनामा राख्ने पिएसजीको योजना रहेपनि एम्बाप्पेले भने सम्झौता नवीकरण मानिरहेका छैनन्। पिएसजीसँगको सम्झौता यहि वर्ष सकिँदै छ। हालको अवस्थामै एम्बाप्पे जुन सुकै क्लबसँग अग्रिम सम्झौता गर्नको लागि खुला भइसकेका छन्।
एम्बाप्पे क्लबमा रहने-नरहने स्पष्ट नभएकै कारण पिएसजी यति बेला उनको ठाउँ लिने खेलाडीको खोजिमा समेत जुटिसकेको छ। पछिल्लो एक खबरका अनुसार पिएसजीमा एम्बाप्पेको ठाउँ बायर्न म्युनिखका लेवान्डोस्कीले लिन सक्नेछन्।
पिएसजीमा लेवान्डोस्कीले एम्बाप्पेको स्थान लिन सक्ने दावी फ्रेन्च मिडियाहरुले गरेका हुन्। एम्बाप्पेको सबै भन्दा राम्रो विकल्प लेवान्डोस्की रहेको र एम्बाप्पेले क्लब छाडे खण्डमा लेवान्डोस्कीलाई भित्र्याउन सकिने निष्कर्ष पिएसजी रहेको फ्रेन्च मिडियाहरु बताउँछन्।
बायर्नमा लेवान्डोस्कीको सम्झौता सन् २०२३ सम्मका लागि छ। सम्झौता थपका लागि बायर्न र लेवान्डोस्की सहमत हुने कमै सम्भावना देखिन्छ। बायर्नले लेवान्डोस्कीको सम्झौता थप गर्न खासै चाहेको देखिँदैन। यस्तोमा बायर्नले उनलाई आउने ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ। यति त्यस्तो भएको खण्डमा लेवान्डोस्कीलाई पिएसजीले भित्र्याउने छ।

