नेपालले आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए मा क्यानडाविरुद्ध पहिलो पावर प्लेमा चार विकेट लिँदै सानदार सुरुवात गरेको छ ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडाले ६ ओभरमा ४ विकेट गुमाउँदै ३९ रन बनाएको छ । क्यानडाका साद बिन जफर १ रनमा क्रिजमा छन् ।
तीव्र गतिका बलर कमलसिंह ऐरीलाई पहिलो ओभरको पाँचौं बलमा सट खेल्नेक्रममा म्याथ्यू फाइनल लेगमा कुशल भुर्तेलबाट शून्यमा क्याच आउट हुन पुगे । कमललेनै कप्तान नवनित धालिवाललाई लोकेश बमबाट १८ रनमा क्याच गराए । कमलले पाँचौं ओभरको तेस्रो बलमा क्यानडाका प्रमुख ब्याटर धालिवाललाई पेभेलिएनको बाटो देखाएका छन् । उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
ओपनर रयान खान पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा रन आउट भए । छैटौैं ओभरको दोस्रो बलमा उनी रन आउट हुन पुगेका थिए । त्यस्तै, पावर प्लेको अन्तिम ओभरको अन्तिम बलमा रबिन्दर पाल सिंह एक रनमा आउट भए । प्रमुख चार विकेट पावर प्लेमा लिएपछि नेपालले सानदार सुरुवात गरेको छ ।
युवा ओपनर म्याथ्यु स्पोर्सले जारी प्रतियोगितामा फिलिपिन्सविरुद्ध डेब्यू गर्दै १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । उनी टि२० आई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । अष्ट्रेलियाबाट क्रिकेट खेलेका उनले यू–१९ पनि उतैबाट खेलेका थिए । अष्ट्रेलिया दोस्रो डिभिजनको खेल उनले वेस्र्टन अष्ट्रेलियाबाट खेलेका थिए ।
जुन टोलीबाट अष्ट्रेलिया जोश इंग्लिस, एस्टन टर्नर, क्यामरन ग्रिन जस्ता खेलाडीले सँगै खेल्ने गर्दछन् । २०१९ मा पाकिस्तानको टोलीले अष्ट्रेलिया ११ सँग अभ्यास खेल्दा उनी टोलीमा थिए । नेपालले उनको महत्वपूर्ण विकेट लिएको हो । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा फर्किदा गुलशन झा बेन्चमा बसेका छन् ।
कसरी हेर्ने खेल ?
नेपाल विरुद्धको खेल हिमालयन टिभीबाट प्रत्यक्ष रूपमा हेर्न पाइनेछ। यसका साथै ओयसआर स्पोर्ट्स युट्युब च्यानलमा पनि लाइभ हेर्न सकिन्छ।

