एजेन्सी – जाभी हर्नान्डेजको नेतृत्वमा क्याटलान क्लब एकपटक पुनः लयमा फर्किने अवस्थामा पुगेको छ। लियोनेल मेस्सीले छाडेपछि कम्जोर भएको आक्रमण मजबुत हुँदै जाँदा बार्सिलोना पुनः लयमा फर्किने अवस्थामा पुगेको हो।
लियोनेल मेस्सीले छाडेपछि जारी सिजनको शुरुवातमा बार्सिलोना धेरै नै कम्जोर अवस्थामा पुगेको थियो। त्यसबेला बार्सिलोनाका खेलाडीहरु फिनिसिङमा चुकिरहेका थिए। जसकारण बलमा राम्रो नियन्त्रण राखेको खेलमा समेत बार्सिलोना पराजित भइरहेको थियो। तर अहिले आएर भने बार्सिलोनाको आक्रमण सुधारोन्मुख देखिएको छ।
सिजनकै घातक देखियो बार्सिलोनाको आक्रमण
जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाले तीन खेलाडी भित्र्याएको थियो। बार्सिलोनाले भित्र्याएका खेलाडीहरुमा पिएरे इमरिक औवामियाङ, फेरान टोरेस र एडामा ट्राओरे छन्। यी तीन खेलाडी थपिएपछि बार्सिलोनाको आक्रमणपङ्ती पहिला भन्दा धेरै राम्रो भएको छ।
आक्रमणमा फरक-फरक खेलाडी उतार्न सक्ने अवस्थामा पुगेसँगै बार्सिलोनाले राम्रो प्रदर्शन पनि गरिरहेको छ। बार्सिलोनाले पछिल्ला तीन खेलमा मात्रै १० गोल गरिसकेको छ।
बार्सिलोनाले सबै भन्दा पहिला एट्लेटिको म्याड्रिड विरुद्ध ४-२ को जित निकालेको थियो भने त्यसपछि स्प्यानोलसँग २-२ को बराबरी खेलेको थियो। त्यस्तै बार्सिलोनाले आइतबार राति भ्यालेन्सियामाथि ४–१ को फराकिलो जित निकाल्यो।
बार्सिलोनाको गोल डिफेन्डर र मिडफिल्डरबाट पनि आउन थालेको छ। जारी सिजनमा बार्सिलोनाका २१ खेलाडीले गोल गरिसकेका छन्। यसरी फरक-फरक खेलाडीहरुबाट गोल हुन थालेपछि बार्सिलोनाका प्रशिक्षक जाभी थप उत्साहित भएका छन्।

