एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) जिनेदिन जिदानलाई क्लबको जिम्मेवारी दिन धेरै नै इच्छुक छ। रियल म्याड्रिडको प्रशिक्षक हुँदा कयौं पटक च्याम्पियन्स लिग जितेका जिदानलाई दिर्घकालिन जिम्मेवारी दिन पिएसजी चाहन्छ।
केहि मिडियाहरुमा आएको खबरलाई मान्ने हो भने जिदान पिएसजी आउन तयार पनि भइसकेका छन्। जिदान यस सिजनको अन्त्यसँगै पिएसजीमा जोडिने बताइन्छ। पिएसजीका वर्तमान प्रशिक्षक मौरिसियो पोचेटिनो पनि पिएसजी छाड्ने मनस्थितिमा पुगिसकेका छन्। उनी पिएसजी छाडेर म्यानचेस्टर युनाइटेड जान लागेको खबर आएको छ।
यसै बीच हालसालै आएको अर्को एक खबरका अनुसार जिदान पिएसजी आएखण्डमा उनले क्लबमा विभिन्न खेलाडीहरु थप्नेछन्। जिदान पिएसजी आएपछि उनले रियल म्याड्रिड र म्यान म्यानचेस्टर युनाइटेडका दुई खेलाडी भित्र्याउन सक्ने स्पेनिस मिडिया एल नेशनलले दावी गरेको छ।
एल नेशनलका अनुसार पिएसजी आएपछि जिदानले रियल म्याड्रिडका करिम बेन्जेमा र युनाइटेडका पल पोग्बा भित्र्याउनेछन्। रियल म्याड्रिड जाने तयारीमा रहेका किलियन एम्बाप्पेको ठाउँमा जिदानले बेन्जेमालाई प्रयोग गर्न सक्नेछन्। बेन्जेमालाई लियोनेल मेस्सी र नेयमारसँग राम्रो तालमेल गराएर अगाडी बढ्ने जिदानको योजना रहेको बताइन्छ।

