काठमाडौं । नेपालमा सर्वसाधारणको ‘ज्यानै जाने’ गरी तरकारी आयात भइरहेको छ । सरकारले हचुवाको भरमा सामान्य प्रकारको दुई समूहको विषादीमात्रै परीक्षण गरेको आधारमा भारतसहित तेश्रो मुलुकबाट ‘अति खतरनाक’ मानिने विषादीयुक्त तरकारी खुलेआम आयात भइरहेको छ ।
सरकारले अर्गानोफस्फेट र कार्वामेट नामको दुई समूहको विषादीमात्रै परीक्षण गरी भारतलगायत तेश्रो मुलुकबाट तरकारी आयात गर्न अनुमति दिएको छ । यही दुई समूहको विषादीको परीक्षण गरेर आयात गरिएका तरकारी प्रत्येक नेपालीको भान्छामा दैनिक रुपमा पाक्ने र उपभोग हुँदै आएको छ ।
यी दुई समूहको विषादीको परीक्षण फोटो स्पेक्टोमिटरसहितको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला (आरबीपीआर) मार्फत हुने गरेको छ । यो प्रयोगशालाको सहयोगमा तरकारी तथा फलफूल ‘खान लायक छ वा छैंन’, ‘केही दिन पर्खेर खान सकिने’ वा ‘नष्ट नै गर्नुपर्ने’ विषयमा परीक्षण गरेको पाँच मिनेटमा विश्लेषण प्रतिवेदन दिने क्षमताको छ ।
विषादी बिज्ञकाअनुसार कालिमाटी तरकारी बजारमा सरकारले कडाई गर्दै तरकारीमा विषादीको अवशेष उपस्थितसम्बन्धी परीक्षण गर्न थालेपछि तुलनात्मक रुपमा यो दुई समूहको विषादीको प्रयोग विस्तारै किसानले घटाउँदै लगेका छन् ।
सोझो अर्थमा भन्ने हो भने आरबीपीआर प्रयोगशाला अर्गानोफस्फेट र कार्वामेट समूहबाहेक अत्यन्त घातक मानिएका अन्य प्रकारको विषादीको परीक्षण वा पहिचान गर्न सक्षम छैन । यसले गर्दा सर्वसाधारणको ज्यानै जाने गरी प्रयोग भएको विषादीयुक्त तरकारी नेपालमा आयात भइरहेका छन । त्यो पनि सरकारकै सामान्यस्तरको परीक्षणको भरमा ।
नेपालमा आयात हुने विषादीमध्ये ८५ प्रतिशतभन्दा बढि विषादी तरकारीमा प्रयोग हुने गरेको सरकारी तथ्याङ्क छ । नियमित रुपमा घातक विषादीयुक्त तरकारी तथा फलफूल उपभोग गर्दा फोक्सो, कलेजो, स्वासप्रस्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्नुका साथै स्मरणशक्तिमा हस, मनोरोग, छालाजन्य रोग, गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन क्षमतामा कमी, मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला बिग्रनेजस्ता समस्या देखापर्ने विज्ञहरुले औंल्याएका छन् ।
विषादी विज्ञ तथा कृषि विभागका पूर्वमहानिर्देशक डा. डिल्लीराम शर्माका अनुसार नेपालमा अर्गानोफस्फेट र कार्वामेट समूहबाहेक अत्यन्तै घातक मानिने सेन्थेटिक पाइरिथ्रोड, नियोनिकोटिनोइड, साइपरमेथिन, म्याक्रोसाईक्लिक ल्याक्टोन, निकोटिनोइड, पाइराजोल, फन्गिसाइडस समुहका विषादीयुक्त तरकारी पनि आयात भइरहेको छ ।
नेपालमा करिब एक सय ७० तथा भारतमा दुई सय ३४ भन्दा बढी प्रकारका विषादी प्रयोग हुन्छन् । ‘सीमा नाकामा अर्गानोफस्फेट र कार्वामेट समूहका विषादी मात्रै परीक्षण गर्ने क्षमताको आरबीपीआर प्रयोगशाला छन’, विषादी विज्ञ शर्माले भने, ‘यी दुई समूह वाहेक अन्य समूहको विषादीको अवशेष पता लगाउने क्षमताको प्रयोगशाला नहुँदा हामी ज्यानै जाने विषयुक्त तरकारी उपभोग गर्न बाध्य छौं ।’ नेपालमा दुई समूहको विषादीको परीक्षण गरेर मात्रै आयात गर्न दिने र आन्तरिक बजारमा पनि यही दुई समूहको परीक्षण गरेर बिक्री हुन दिने सरकारले नीति बनाएको छ । यसले गर्दा पछिल्लो समयमा भारत र नेपालका किसानले अत्यन्तै घातक मानिने सेन्थेटिक पाइरिथ्रोड, नियोनिकोटिनोइड, म्याक्रोसाईक्लिक ल्याक्टोन, निकोटिनोइड, पाइराजोल र फन्गिसाइडस समुहका विषादी सहजै रुपमा प्रयोग गर्न थालेका छन् ।
यसको अर्थ आरबीपीआर प्रयोगशालाले परीक्षण गर्ने क्षमतालाई चुनौती दिँदै घातक विषादीको प्रयोग हुन थालेको छ । सम्पूर्ण नेपालीलाई स्वच्छ र स्वास्थ्यवद्र्धक तरकारी र फलफूल उपलब्ध गराउन सीमा क्षेत्रमै ग्यास क्रोमाटोग्राफी वा लिक्वीड क्रोमाटोग्राफी प्रविधिमा आधारित अत्याधुनिक प्रयोगशाला आवश्यक रहेको विषादी बिज्ञ शर्माले जानकारी दिए ।
‘यो प्रविधियुक्त प्रयोगशालाको सहयोगमा तरकारी र फलफूल परीक्षण गरेर आयात गर्न दिइयो भने बल्ल नेपालीले विषादीरहित ति खाद्य पदार्थ उपभोग गर्न पाउनेछन,’ शर्माले भने, ‘नत्र सर्वोच्च अदालतको आदेश पालना गर्ने नाममा झारा टराई परीक्षण मात्रै हो । देखाउनलाई परीक्षण भनिए पनि सर्वसाधारणले घातक विषादीयुक्त तरकारी र फलफूल उपभोग गर्न बाध्य हुनुपर्ने परम्पराको अन्त्य हुनेछन् ।’