आज जिते नेपाल विश्वकपमा, यसरी हेर्नुहोस् प्रत्यक्ष खेल !

pic: CAN

नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा आज युनाइटेड अरव इमिरेट्स(युएई) सँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा–१ मा हुनेछ।

नेपालले युएईलाई हराए आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ। नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ । युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ। नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन्। पहिलो सेमिफाइनलमा दुई बलिया टोलीबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ।

दोस्रो सेमिफाइनलमा ओमान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता हुन्। आयरल्यान्ड समूह ए को विजेता र ओमान समूह बी को उपविजेता हुन्। नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो। अपराजित रहँदै सेमिफाइनल खेल्ने नेपाल एक्लो टोली हो।

नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गर्यो। यता युएईले टेस्ट टोली आयरल्यान्डलाई १८ रनले स्तब्ध पार्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो। जमर्नीलाई २४ रनले हराँदा बहराइनसँग २ रनले स्तब्ध हुँदै नेटरनरेटको कारण सेमिफाइनलमा पुगेको हो । बहराइनसँगको हारले युएई सचेत छ। नेपालको दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कमलसिंह ऐरी प्रमुख हतियार हुन् । रोहन मुस्तफा, चिराग सुरी र वृत्य अरविन्द युएईका प्रमुख खेलाडी हुन्।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन्। आसिफले यस प्रतियोगितामा ठूलो इनिङ खेल्न सकेका छैन्। नेपाल महत्वपूर्ण खेलमा आसिफबाट उत्कृष्ट प्रदर्शन चाहन्छ। कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी उच्च लयमा छन्। यी दुई ब्याटरको उच्च प्रदर्शन बिना नेपाललाई जित हात पार्न कठिन पर्न सक्छ। कुशलले फिलिपिन्सविरुद्ध शतकीय इनिङ खेलेका थिए।

दीपेन्द्रले हरेक खेलमा उच्च प्रदर्शन गर्दै आएका छन्। यी दुई ब्याटरलाई ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, लोकेश बम र आरिफ शेखले राम्रो साथ दिन आवश्यक छ। लोकेशबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ। युएईलाई हराउन त्यो आवश्यक पनि देखिन्छ। कुशल मल्लको स्थानमा विवेक यादवलाई मौका दिनसक्छ। तर बायाँ हाते खेलाडी हुँदा कुशलनै रोजाईमा पर्न सक्छन्।

कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा तीव्र गतिका हतियार हुन्। यी तीन तीव्र गतिका बलरले यस प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आएका छन्। कमलले पावर प्ले र अभिनाशले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै आएका छन्। मध्यक्रममा कप्तानी सन्दीपको भूमिका महत्वपूर्ण हुन्छ। सन्दीपलाई पार्टटाइमका बलर दीपेन्द्रले साथ दिनेछन्। नेपालले पावर प्लेमा उत्कृष्ट आक्रामक ब्याटिङको आवश्यक छ। डट बलमा कमी, मध्यक्रमका ब्याटरले जिम्मेवारी र तल्लोक्रमकाले उत्कृष्ट फिनिसिङ गर्न सके जित कुनै कठिन देखिदैन।

युएईले यस प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएका छन्। ओपनर चिराग सुरी र मोहम्मद वासिम दुबै उच्च लयमा छन्। चार देश सम्मिलित टि२० आई सिरिजमा सुरीले नेपाललाई २५ रनले हराउँन ८४ रनको अविजित इनिङ खेलेका थिए। वासिम आक्रामक क्रिकेटका लागि चिनिन्छन्। यी दुबै ब्याटरलाई नेपालले समयमै पेभेलिएनको बाटो देखाउन सके जित सहज हुनेछ।

वासिमले ओमानसँग ८४ रनको विष्फोटक इनिङ खेलेका थिए। यी दुई ब्याटर धेरै समय टिके नेपालको जित भने कठिन बन्नसक्छ। तर मध्यक्रमका १९ वर्षिय वृत्य अरविन्द उच्च लयमा छन्। उनले आयरल्यान्डलाई हराउन ६७ बलमा ९७ रनको एकल इनिङमा जित पक्का गराएका थिए। बहराइनसँग उनी ८४ रनमा अविजित रहँदै सेमिफाइनल पक्का गराए। विकेटकिपर वृत्यले सुरुवातमा केहि समय लिँदै उत्कृष्ट अन्त्य गर्दै आएका छन्। उनको विकेट लिन सकेमा नेपाल खेलमा अझ बढी हाबी हुनसक्छन्।

नेपाली टि२० फ्रेन्चाइजका चर्चित खेलाडी रोहन मुस्तफा पनि त्यतिनै राम्रो लयमा छन्। नेपाली खेलाडी बारे मुस्तफालाई राम्रो जानकार पनि छ। मुस्तफा, वासिम, वृत्य र सुरीलाई पेभेलिएनको बाटो देखाउन सके नेपाल सहज जितका साथ विश्वकपमा पुग्न सक्छ। कासिफ दाउद र बासिल हामिद उसका फिनिसर हुन्। जहुर खान योर्करका लागि चिनिन्छन्। स्पिनरमा कार्तिक मयप्पान र अहमद राजा हुनेछन्।

हेड टु हेड 

नेपाल र युएईबीच चार टि२० आई खेल भएको छ। नेपाल २ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ। २०१९ मा नेपालले युएईलाई उसकै घरेलु मैदानमा तीन टि२० आई सिरिज २–१ ले जितेको थियो। यसै साता चार देश सम्मिलित टि२० आई सिरिजमा नेपाल २५ रनले परजित भएको थियो।

मौसम : मस्कटमा आज वर्षाको कुनै सम्भावना छैन । तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म हुनेछ।

लाइभ : लाइभ नेपालमा हिमालयन टिभी र ओएसआर स्पोर्ट्स युटुब तथा विदेशीमा आइसिसी टिभी र फ्यान कोर्डबाट हेर्न सकिनेछ।

नेपाल टोली 

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र लोकेश बम।

कसरी हेर्ने खेल ? 

नेपाल विरुद्धको खेल हिमालयन टिभीबाट प्रत्यक्ष रूपमा हेर्न पाइनेछ। यसका साथै ओयसआर स्पोर्ट्स युट्युब च्यानलमा पनि लाइभ हेर्न सकिन्छ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१०:३२

‘घरेलु लिगमा जे जस्तो प्रदर्शन गरुन्, च्याम्पियन्स लिगमा भने रोनाल्डोले कमाल गर्छन्’