बार्सिलोनाका स्ट्राइकर पियरे-इमरिक औबामेयाङले बोरुसिया डर्टमण्डका स्टार एर्लिङ हालान्डको खुलेर तारिफ गरेका छन्। पूर्व आर्सनल कप्तानले नर्वेजियन खेलाडीलाई “विश्वकै उत्कृष्ट मध्ये एक” को रूपमा वर्णन गरेका छन्।

धेरै रिपोर्टहरूले हालैका महिनाहरूमा हालान्डलाई एफसी बार्सिलोनामा स्थानान्तरणसँग जोडेका छन्। ब्लाउग्राना अर्को समरमा बोरुसिया डर्टमण्ड स्ट्राइकरको हस्ताक्षर सुरक्षित गर्न अत्यन्त उत्सुक रहेको छ र यसको लागि गत समरबाट नै क्लब अध्यक्ष जोआन लापोर्टा तयारीमा जुटेको पनि बताइन्छ।

हालाण्ड जस्तो उत्कृष्ट खेलाडीको नाम आफ्नो क्लबसँग जोडिदा राम्रा भन्दा राम्रा खेलाडी क्लबमा आफ्नो स्थानलाई लिएर असुरक्षित हुनु कुनै नौलो कुरा भने हैन। तर औबामेयाङ त्यस्ता खेलाडीमा पर्दैनन्। टोलीमा आफ्नो स्थानको लागि डराउनुको सट्टा, ग्याबोन अन्तर्राष्ट्रिय सधैं “स्वस्थ प्रतिस्पर्धा” को लागि तयार रहेका छन्।

बोरुसिया डर्टमण्डबाट २१ वर्षीयाको सम्भावित स्थानान्तरणको बारेमा छलफल गर्दै, पूर्व आर्सनल स्ट्राइकरले स्पोर्टलाई भने: “हालान्डसँग बार्सिलोनामा खेल्नु सम्मानको कुरा हुनेछ। म मेरा सहकर्मीहरूसँग स्वस्थ प्रतिस्पर्धाको लागि सधैं तयार छु।”

डर्टमन्डका लागि हालसम्म ७९ खेलमा ८० गोल गरेका नं।९ को उनको गति, एथलेटिसिजम र शारीरिकताका लागि व्यापक रूपमा प्रशंसा गरिन्छ। युवा फरवार्डका उत्कृष्ट गुणहरूबारे छलफल गर्दै, औबामेयाङले थपे: “म कोच होइन, तर मलाई लाग्छ कि उनी एक उत्कृष्ट खेलाडी हुन्। उनले धेरै गोल गर्छन्, उनको फिजीक पनि राम्रो छ, र गति त्यतिकै छ। यो धेरै दुर्लभ छ, किनभने उनी ठूला छन् र गति पनि रफ्तार छ। यो अविश्वसनीय छ।”

३२ वर्षीय स्ट्राइकरले नर्वेली गोल मेसिनको लागि उच्च प्रशंसाको साथ अन्तर्वार्ता समेटे। डर्टमन्डका पूर्व स्ट्राइकरले थपे: “उनको उमेरको लागि, उनी अहिले नै संसारको सर्वश्रेष्ठ मध्ये एक हुन्।” औबामेयाङले बार्सिलोनाका लागि हालसम्म तीन ला लिगा खेलमा तीन गोल गरिसकेका छन्। उनले आइतबार क्याटालान जाइन्ट्सका लागि फुल डेब्यु खेलमा भ्यालेन्सियाविरुद्ध ह्याट्रिक गरेका थिए।

