बार्सिलोनाबाट ग्रीष्मकालीन स्थानान्तरणपछि पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा लियोनल मेस्सीको लागि समय योजना अनुसार चलिरहेको छैन। अर्जेन्टिनी कप्तानले यस सिजन फ्रान्सेली राजधानीमा आफ्नो स्थानान्तरणपछि १६ खेलहरूमा मात्र दुई लिग गोल गरेका छन्।

शनिबार पीएसजी नान्टेससँग ३-१ ले पराजित हुँदा पनि मेस्सी निरिह रहे। मेस्सीको उक्त प्रदर्शनको फ्रान्सेली प्रेसमा कडा आलोचना भयो जसमा L’Equipe ले दिने दैनिक र्यान्किंगमा उनको प्रदर्शनलाई १० मध्ये चार मात्र दिइयो। जसअघि च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिड विरुद्ध मेस्सीले पेनाल्टी मिस गरेका थिए, जुन खेलमा एम्बाप्पेको गोलमा पीएसजी १-० ले विजयी हुन सफल भयो।

यस्तोमा, फ्रान्समा विभिन्न रिपोर्टहरूद्वारा हाइलाइट गरे अनुसार, मेस्सीका एक टिममेटले म्याड्रिड विरुद्धको खेलमा आफ्नो रक्षात्मक कार्यलाई लिएर निकै असन्तुष्ट रहेका छन्।

थप रूपमा, पूर्व फ्रान्सेली तथा पीएसजी विङ्गर जेरोम रोथेनले मेस्सीलाई क्लबको लागि “बोझ” भएको बताएका छन्। रोथेनले अर्जेन्टिनाका सुपरस्टारको बारेमा व्याख्या गरेका छन्: “उनी क्लबका लागि बोझ हुन्। उनको सुरुवाती महिना राम्रो रहेनन् र लियोनेल मेस्सी र पीएसजी बीचको सम्बन्ध सफल हुन सकेन। यो स्थानान्तरण एक खराब विचार थियो।”

“उनी फुटबलले देखेको सबै पुस्ताहरूमध्ये सायद उत्कृष्ट खेलाडी हुन्। तैपनि, मानिसहरूले मेस्सीको आलोचना गर्नु हुन्न भन्ने सुन्दा म अचम्मित हुन्छु,” उनले भने।

