नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईका कप्तान अहमद राजाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । कुशल मल्लको स्थानमा नेपालले विवेक यादवलाई आजको खेलमा प्लेइङ ११ मा खेलाएको छ । अन्य कुनैपनि परिवर्तन गरेको छैन । कुशल फिलिपिन्ससँग १२ र क्यानडासँग गोल्डेन डक आउट भएका थिए ।
नेपालले युएईलाई हराए आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ । युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ । नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता हुन् ।
नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गर्यो । अपराजित यात्राका साथ सेमिफाइनल खेल्ने नेपाल एकमात्र टोली हो । युएईले टेस्ट टोली आयरल्यान्डलाई १८ रनले स्तब्ध पारेको थियो । जमर्नीलाई २४ रनले हराँदा अन्तिम खेलमा बहराइनसँग २ रनको अप्रत्याशित हार बेहोरेपनि नेटरनरेटको कारण सेमिफाइनलमा पुगेको हो । यसअघि चार देश सम्मिलित टि२० आई सिरिजमा युएईले नेपाललाई २५ रनले हराएको थियो ।
दोस्रो सेमिफाइनलमा ओमान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। आयरल्यान्ड समूह ए को विजेता र ओमान समूह बी को उपविजेता हुन् । ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा

