एजेन्सी – बुधबार राति च्याम्पियन्स लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एट्लेटिको म्याड्रिडको सामना गर्दैछ। समूहचरणबाट समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको युनाइटेडले एट्लेटिको म्याड्रिडको सामना गर्न लागेको हो। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेशका लागि बुधबार हुने खेल दुवै क्लबका लागि महत्वपूर्ण हुनेछ।
युनाइटेडका स्तर फुटबलर क्रिस्टियानो रोनाल्डोका लागि एट्लेटिको नौलो प्रतिद्वन्दी होइन। रोनाल्डोले लालिगामा हुँदा कयौपटक एट्लेटिकोको सामना गरेका थिए। झन्डै १ दशक रियल म्याड्रिडमा रहँदा रोनाल्डोले एट्लेटिको विरुद्ध खेलेका थिए। एट्लेटिको विरुद्ध खेलेका रोनाल्डोको अनुभव पक्कै पनि काम आउनेछ।
एट्लेटिको विरुद्ध यस्तो छ रोनाल्डोको तथ्यांक
रोनाल्डोले अहिले सम्म एट्लेटिकोको ३५ पटक सामना गरेका छन्। लालिगा, च्याम्पियन्स लिग सहित अन्य सबै प्रतियोगितामा गरी रोनाल्डोले एट्लेटिकोको यति संख्यामा सामना गरेका हुन्। रोनाल्डोको तथ्यांकलाई हेर्ने हो भने एट्लेटिको विरुद्ध १७ जित निकाल्दा ९ हार बेहोरेका छन्। त्यस्तै बाँकी ९ खेलमा भने बराबरी खेलेको तथ्यांक छ।
एट्लेटिकोको रोनाल्डोले च्याम्पियन्स लिगमा १० पटक, लालिगामा १६ पटक, कोपा डेल रेमा ७ पटक र सुपरकोपामा २ पटक सामना गरेका छन्। रोनाल्डोले एट्लेटिको विरुद्ध २५ गोल गरेका छन् भने ९ असिस्ट दिएका छन्।
च्याम्पियन्स लिगमा के छ तथ्यांक
च्याम्पियन्स लिगमा रोनाल्डोले एट्लेटिकोको १० पटक सामना गरेका छन्। एट्लेटिकोसँग च्याम्पियन्स लिगमा भेट हुँदा ६ खेलमा जित निस्किएको छ भने २ खेल बराबरीमा टुंगिएको छ। च्याम्पियन्स लिगमा रोनाल्डोले एट्लेटिको विरुद्ध ७ गोल गर्दा ३ असिस्ट दिएका छन्।

