एम्बाप्पे र पिएसजी बीचको सम्बन्ध सुध्रियो ! क्लबमै बस्ने सम्भावना कति ?

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) र किलियन एम्बाप्पेको सम्बन्ध सुधारोन्मुख देखिएको छ। गत समर ट्रान्सफर विन्डो देखि बिग्रिएको पिएसजी र एम्बाप्पे बीचको सम्बन्ध सुधारोन्मुख देखिएको हो।

गएको सिजन एम्बाप्पेले पिएसजी छाड्न लगातार प्रयास गरेका थिए। त्यसक्रममा पिएसजीलाई उनले बिक्री गरिदिन दबाव नै दिएका थिए। जसकारण पिएसजीका अधिकारी र एम्बाप्पे बीचको सम्बन्धमा केहि दरार आएको थियो।

तर अहिले आएर भने दुई पक्ष बीचको सम्बन्ध सुध्रिएको छ। पिएसजीका पूर्व खेलाडी जेरोम रोथेनले पिएसजी र एम्बाप्पे बीचको सम्बन्ध सुध्रिएको बताएका हुन्। रोथेनका अनुसार एम्बाप्पेले पिएसजीमा सम्झौता थप गर्न सक्ने सम्भावना बाँकी छ।

एक अन्तर्वार्ताका क्रममा रोथेनले आफूलाई पिएसजी र एम्बाप्पे बीचको सम्बन्ध राम्रो हुँदै गएको जानकारी प्राप्त भएको बताए। गत अगस्टमा एम्बाप्पेले पिएसजी छाड्ने ९९ प्रतिशत सम्भावना देखिएको भएपनि अहिले आएर सो सम्भावना ६५ प्रतिशतमा घटेको रोथेनको भनाई छ।

“मैले पाएको जानकारी अनुसार पिएसजी र एम्बाप्पे बीचको सम्बन्ध सुध्रिएको छ। गत अगस्टमा उनले पिएसजी छाड्ने ९९ प्रतिशत सम्भावना थियो। तर अहिले त्यो घटेर ६५ प्रतिशतमा आइपुगेको छ।”,रोथेनले भने,”मलाई त्यो कुनै पनि समय परिवर्तन हुने पनि बताइएको छ।”

रोथेनले एम्बाप्पेको भविष्यलाई च्याम्पियन्स लिगको नतिजाले पनि असर पार्न सक्ने बताए। उनका अनुसार च्याम्पियन्स लिग जित्न सकेको खण्डमा एम्बाप्पे पिएसजीमै रहन सक्नेछन्।

प्रकाशित : बिहिबार, फागुन १२, २०७८१०:५८

जाभी भन्छन्-“नापोली विरुद्ध बार्सिलोना के चीज हो भनेर संसारले देख्नेछ”