पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार लियोनल मेस्सीले प्रशिक्षणको क्रममा आफ्ना टिममेट किलियन एम्बाप्पेलाई पर्फेक्ट फ्री-किकका साथ स्तब्ध बनाएका छन्। मेस्सीको उत्कृष्ट फ्री-किक देखेर फ्रेन्च स्टारले देखाएको प्रतिक्रिया क्यामेरामा कैद भएको छ।
गत समरमा पेरिस सेन्ट-जर्मेनसँग अनुबन्ध भएपछि मेस्सीले आफ्नो चमत्कार फ्रान्समा देखाउन सकेका छैनन्। ७ पटकका ब्यालोन डी ओर विजेताले पेरिस क्लबका लागि सबै प्रतियोगिताहरूमा मात्र सात गोल र नौ असिस्ट प्रदान गर्न सफल भएका छन्। तर अर्जेन्टिनी स्टारका टिममेटलाई भने मेस्सीले आफ्नो खुट्टामा बल हुँदा के गर्न सक्छन् भनेर राम्रोसँग थाहा छ।
केही साता अघि युट्युबमा रहेको एउटा भिडियोले मेस्सीको खेलअघिको उत्कृष्टताका कारण ४ मिलियन भ्युज कमायो। एम्बाप्पेले ९३ औं मिनेटमा गरेको एक मात्र गोलले रेनेसमाथि १-० ले लिग वानको जित हात पार्नु अघि, मेस्सीको क्षमता देखेर विश्वकप विजेता छक्क परेका थिए। पीएसजी टोलीको प्रशिक्षणको क्रममा क्लबका धेरै खेलाडीहरूले फ्री-किक प्रहार गरिरहेका थिए। त्यसपछि मेस्सीले पनि प्रहार गर्ने निर्णय गरे।
अर्जेन्टिनी कप्तान विश्व फुटबलमा हाल उत्कृष्ट सेट-पीस लिने खेलाडी हुन् र उनले दुई पटक बललाई पोस्टको टप-कर्नरमा कर्ल गराए। यसमा एम्बाप्पे र मिडफिल्डर मार्को भेराटीको प्रतिक्रिया हेर्न लायक थियो। २३ वर्षीय फ्रेन्च स्टार पूर्ण रूपमा अविश्वासमा थिए।
पीएसजीका लागि भने मेस्सीले फ्री-किक गोल गर्न बाँकी नै रहेको छ। तर यस भिडियो हेर्दा अब उनका समर्थकले उत्कृष्ट फ्री-किक गोल हेर्न धेरै समय लाग्दैन जस्तो देखिन्छ।