एजेन्सी – जाभी हर्नान्डेजको नेतृत्वमा क्याटलान क्लब एकपटक पुनः लयमा फर्किने अवस्थामा पुगेको छ। लियोनेल मेस्सीले छाडेपछि कम्जोर भएको आक्रमण मजबुत हुँदै जाँदा बार्सिलोना पुनः लयमा फर्किने अवस्थामा पुगेको हो।
लियोनेल मेस्सीले छाडेपछि जारी सिजनको शुरुवातमा बार्सिलोना धेरै नै कम्जोर अवस्थामा पुगेको थियो। त्यसबेला बार्सिलोनाका खेलाडीहरु फिनिसिङमा चुकिरहेका थिए। जसकारण बलमा राम्रो नियन्त्रण राखेको खेलमा समेत बार्सिलोना पराजित भइरहेको थियो। तर अहिले आएर भने बार्सिलोनाको आक्रमण सुधारोन्मुख देखिएको छ।
सिजनकै घातक देखियो बार्सिलोनाको आक्रमण
जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाले तीन खेलाडी भित्र्याएको थियो। बार्सिलोनाले भित्र्याएका खेलाडीहरुमा पिएरे इमरिक औवामियाङ, फेरान टोरेस र एडामा ट्राओरे छन्। यी तीन खेलाडी थपिएपछि बार्सिलोनाको आक्रमणपङ्ती पहिला भन्दा धेरै राम्रो भएको छ।
आक्रमणमा फरक-फरक खेलाडी उतार्न सक्ने अवस्थामा पुगेसँगै बार्सिलोनाले राम्रो प्रदर्शन पनि गरिरहेको छ। बार्सिलोनाले पछिल्ला पाँच खेलमा मात्रै १५ गोल गरिसकेको छ।
बार्सिलोनाले सबै भन्दा पहिला एट्लेटिको म्याड्रिड विरुद्ध ४-२ को जित निकालेको थियो भने त्यसपछि स्प्यानोलसँग २-२ को बराबरी खेलेको थियो। त्यस्तै बार्सिलोनाले आइतबार राति भ्यालेन्सियामाथि ४–१ को फराकिलो जित निकाल्यो।
यस्तै बार्सिलोनाले युरोपा लिग अन्तर्गतका खेलमा पनि ५ गोल गरिसकेको छ। युरोपा लिग अन्तर्गत नापोली विरुद्धको पहिलो लेगमा १ गोल गरेको बार्सिलोनाले दोस्रो लेगमा ४ गोल गर्यो। पहिलो खेल १-१ मा रोकिँदा बिहिबार राति ४-२ को गोल अन्तरले पराजित गर्यो। यसरी फेब्रुअरी लागेपछि मात्रै बार्सिलोनाले पाँच खेल खेल्दा ३ जित निकाल्यो भने २ खेलमा बराबरी खेल्यो।