एजेन्सी – यसै सिजन रियल म्याड्रिडबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका सर्जियो रामोसलाई शरीरले त्यति साथ दिरहेको छैन। सिजनको शुरुवातमै घाइते भएर कयौं महिना मैदानबाट बाहिर रहेका उनी अहिले पनि मैदान बाहिर छन्।
रामोसले पिएसजी आएयता कमै मात्र मैदानमा उत्रिन पाएका छन्। जारी सिजनमा रामोसले पिएसजीका लागि मात्रै ५ खेल खेलेका छन्। जसमध्ये १ खेलमा उनले गोल पनि गरेका थिए।
च्याम्पियन्स लिगमा पिएसजीले रियल म्याड्रिडको सामना गर्नु अगाडी रामोस ठिकै थिए। तर रियलको सामना गर्नु अगाडी नै उनी घाइते हुन पाए। त्यसयता उनी आराम गरिरहेका छन्।
बताइएअनुसार, रामोस च्याम्पियन्स लिग अन्तर्गत रियल विरुद्धको दोस्रो लेगका लागि पनि उपलब्ध हुने छैनन्। रामोस सो खेलका लागि उपलब्ध हुन गार्है रहेको फ्रेन्च मिडियाहरु बताउँछन्।
रामोसको सिजन गयो
पिएसजीका एक पूर्व खेलाडीको भनाईलाई मान्ने हो भने रामोसका लागि यस सिजन सकिएको छ। यसो बताउने अरु कोहि नभई पिएसजीका पूर्व खेलाडी एलेन रोचे हुन्। एक अन्तर्वार्ताका क्रममा उनले रामोसका लागि यस सिजन सकिएको बताए।
लगातार घाइते हुन थालेका कारण रामोसका लागि यस सिजन सकिएजस्तै देखिएको एलेन रोचेको भनाई छ। चमत्कार भए मात्रै रामोसले जारी सिजनमा खेल्ने सम्भावना रहेको रोचेले बताए।
“रामोसले अहिले सम्म कुनै ठूला खेलमा खेलेका छैनन्। उनले पिएसजीका लागि एक पटक पनि च्याम्पियन्स लिगका लागि खेलेका छैनन्। मलाई लाग्छ रामोसको लागि यस सिजन सकिएको छ। चमत्कार नभए उनले यस सिजन खेल्न सक्ने कमै देखिन्छ।”,उनले भने।