भट्टराई–यादवबीच चर्काचर्की, फुटको संघार जसपा !

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र विवाद चर्किएको छ । फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीच चर्काचर्की भएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु भएसँगै चर्काचर्की सुरु भएको हो । डा. भट्टराईले पार्टी विधानअनुसार सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषय पनि बैठकको एजेन्डा बनाउनुपर्ने अडान राखेका थिए ।

तर, अध्यक्ष यादवले सामूहिक र समानुपातिक नेतृत्वको विषय बैठकको एजेन्डा बनाउन नसकिने अडान राखेपछि करिब एक घण्टाको चर्काचर्कीसँगै यादव सो विषयलाई एजेन्डा बनाउन सहमत भएका थिए ।

यादव सामूहिक र समानुपातिक नेतृत्व प्रणालीबारे छलफलको एजेन्डा बनाउन सहमत भएपछि सुरु भएको बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले बताए ।

यही विषय उठाउँदै भट्टराईले बैठक बोलाउन माग गरेपछि यादव बैठक राख्न समेत सहमत थिएनन् । लामो समयपश्चात् बैठक राख्न सहमत भए पनि उनी बैठकको एजेन्डा बनाउन नहुने पक्षमा थिए ।

जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामक दल महन्थ ठाकुर र राजेन्द्र महतोले गठन गरेपछि जसपामा एक अध्यक्ष रिक्त छ । ठाकुर र यादव दुई जना जसपाको अध्यक्ष थिए । रिक्त एक अध्यक्षमा कसैलाई ल्याउन नहुने अडान यादवले राख्दै आएका छन् । तर, विधानअनुसार रिक्त अध्यक्षसहित कार्यकारिणी समितिको सदस्य समेत पूर्ति गर्नुपर्ने पक्षमा भट्टराई रहेका छन् ।

सामूहिक तथा समानुपातिक नेतृत्व प्रणालीको विषय बैठकको एजेन्डा बन्ने सहमतिसँगै अन्य एजेन्डा तय भएको हो । बैठकको सुरुमा भट्टराई र यादवले आफ्ना धारणा राखेपछि बैठक अन्य एजेन्डामा प्रवेश गरेको हो ।

बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता, एमसीसी सम्झौता, संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समीतिका सदस्यहरुको जिम्मेवारी बाँडफाँड, पार्टी विधान सम्मेलन, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीलगायतका एजेन्डामा छलफल सुरु भएको प्रवक्ता डम्बर खतिवडाले बताए ।

प्रकाशित : शनिबार, फागुन १४, २०७८०८:५०

ओली देखाएर दाहाल र नेपाललाई तर्साउने देउवाको तयारी !